Sunday, December 2, 2012

४३३ कर्मचारी छड्केमा, तोकिएको पोशाक नलाउने २७६ जना

काठमाडौं, १७ मंसिर– राष्ट्रिय सतर्कता केन्द्रले संस्थान र विकास समितिसहित ११ सरकारी निकायमा अनुगमन गर्दा दुई महाप्रबन्धकसहित ४ सय ३३ जना कर्मचारी छड्केमा परेको र २ सय ७६ जनाले तोकिएको पोशाक नलगाएको भेटिएको जनाएको छ ।
केन्द्रले विज्ञप्ति जारी आफ्नो कार्यालयका एघार टोलीले आइतबार ११ वटा निकायमा  अनुगमन गर्दा उक्त संख्यमा कर्मचारीहरू छड्केमा परेको र सरकारद्वारा तोकिएको पोशाक नलगाएको भेटिएको उल्लेख गरेको छ ।
केन्द्रका टोलीले कर्मचारीहरूको समय पालना÷हाजिरी छड्के, पोशाक, कार्यालयको सरसफाइ, भौतिक अवस्थालगायतको अनुगमन गरेको विज्ञप्तिमा उल्लेख छ । छड्केमा परेकामध्ये रेडियो नेपालका प्रशासकीय अधिकृत सुनिलकुमार गुप्ता बिहान नै बेलुकाको समेत हाजिर गरी कार्यालयमा अनुपस्थित रहेको भेटिएको केन्द्रले जनाएको छ ।
विज्ञप्तिका अनुसार विद्युत प्राधिकरणका १ सय ३३, नेपाल टेलिकमका ३९, नेपाल खानेपानी संस्थानका महाप्रबन्धकसहित १३, काठमाडौं उपत्यका खानेपानी लिमिटेडका महाप्रबन्धकसहित ३९, नागरिक उड्डयन प्राधिकरणका ५०, दुग्ध विकास संस्थानका २८, रेडियो नेपालका १०, राष्ट्रिय समाचार समितिका १२, नेपाल टेलिभिजनका ३९, गोरखापत्र संस्थानका ६२ र नेपाल आयल निगमका ८ कर्मचारी छड्केमा परेका थिए ।
त्यसैगरी खानेपानी संस्थानका १२, काठमाडौं उपत्यका खानेपानी लिमिटेडका २६, नागरिक उड्डयन प्राधिकरणका ४९ जना, दुग्ध विकास संस्थानका १८, रेडियो नेपालका २६, विद्युत् प्राधिकरणका १ सय ४५ जना कर्मचारी सरकारद्वारा तोकिएको पोशाक नलगाएको भेटिएको केन्द्रले उल्लेख गरेको छ । यी सबै निकायमा सरकारले कर्मचारीलाई पोशाक तोकी त्यसका लागि वर्षेनि भत्ता दिंदै आएको छ ।


No comments:

Post a Comment