Thursday, December 27, 2012

लोकतान्त्रिक योद्धा रावल रहेनन्

काठमाडौं, १२ पुस– लोकतान्त्रिक योद्धा एवं नेपाली कांग्रेस अछामका पूर्वसभापति भैरवसिंह रावलको राजधानीको बुढानिलकण्ठस्थित आफ्नै निवासमा बुधबार राति ८७ वर्षको उमेरमा निधन भएको छ । स्वर्गीय रावल वि.सं. २०३५ देखि २०४८ सम्म निरन्तर नेपाली कांग्रेस अछामको जिल्ला सभापति थिए ।
मुलुकमा प्रजातन्त्रको स्थापना र पुनःस्थापनाका लागि संघर्षका क्रममा उनी पटक–पटक गरी करिब ३ वर्ष जेल परेका थिए । स्वर्गीय रावलका ४ छोरा र १ छोरी छन् । स्वर्गीय रावलको पार्थिव शरीरको बिहीबार नै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरियो ।
कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवा र उपसभापति रामचन्द्र पौडेलले पार्टीको झण्डा ओढाएर स्वर्गीय रावलप्रति अन्तिम श्रद्धाञ्जली अर्पण गरेका थिए । स्वर्गीय रावलप्रति श्रद्धाञ्जली अर्पण गर्न कांग्रेसका महामन्त्रीद्वय प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौला, पार्टीका केन्द्रीय सदस्यहरू, पार्टीका नेता एवं कार्यकर्ताहरू ठूलो संख्यामा पशुपति आर्यघाटमा उपस्थित थिए ।
यसैबीच कांग्रेस सभापति सुशील कोइरालाले रावलको निधनमा गहिरो शोक व्यक्त गरेका छन् । पार्टीका तर्फबाट शोक वक्तव्य जारी गरी उनले रावलको निधनको खबरले कांग्रेस र आफूलाई स्तब्ध र दुःिखत बनाएको उल्लेख गरेका छन् ।
नेपालमा प्रजातन्त्र स्थापना र पुनःस्थापनामा उनले निर्वाह गरेको भूमिका पार्टीको इतिहासमा सदा स्मरणीय रहिरहने टिप्पणी गर्दै कोइरालाले उनको निधनले पार्टीलाई अपूरणीय क्षति पुगेको उल्लेख गरेका छन् । उनले दुःखको यस घडीमा दिवंगत आत्माको चीर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारप्रति हार्दिक समवेदनासमेत प्रकट गरेका छन् ।

  


  


No comments:

Post a Comment