Tuesday, December 4, 2012

प्राधिकरणको कार्यकारी निर्देशकमा यादवको प्रस्ताव

काठमाडौं, १९ मंसिर– ऊर्जा मन्त्रालयले विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा पूर्वमहाप्रबन्धक रामेश्वर यादवलाई नियुक्त गर्न मन्त्रिपरिषदमा प्रस्ताव लगेको छ । खुला प्रतिस्पर्धाबाट छनौट भएका यादवलाई कार्यकारी निर्देशक नियुक्त गर्न मन्त्रिपरिषदमा प्रस्ताव गरिएको जानकारी ऊर्जा मन्त्रालयका अधिकारीले दिए ।
मन्त्रिपरिषदको आगामी बैठकले उनलाई कार्यकारी निर्देशक नियुक्त गर्नेछ । उनी ५८ वर्ष पुगी अवकास पाउनुअघि प्राधिकरणको निमित्त कार्यकारी निर्देशक भएका थिए । खुल्ला प्रतिस्पर्धाबाट छानिएका कार्यकारी निर्देशक दिपेन्द्रनाथ शर्माले राजिनामा दिएपछि प्राधिकरण एक वर्षदेखि नेतृत्वविहीन थियो ।
तत्कालीन ऊर्जामन्त्री पोष्टबहादुर बोगटीको पालामा पूर्वजलस्रोत सचिव विश्वनाथ रेग्मीको संयोजकत्वमा गठित समितिले खुल्ला प्रतिस्पर्धाबाट कार्यकारी निर्देशकका लागि यादव र वैकल्पिक उम्मेदवारमा मुकेश काफ्लेलाई सिफारिस गरेको थियो ।
तर, ऊर्जा मन्त्रालयले कार्यकारी निर्देशक छान्न प्रक्रिया सुरु गरेको केही दिनपछि नै सरकारले संस्थान प्रमुखहरू खुला प्रतिस्पर्धाबाट छनौट गर्न संस्थान निर्देशन बोर्ड गठन गरेपछि समितिबाट सिफारिस गरिएका यादवलाई नियुक्ति गर्ने÷नगर्ने विषयमा अन्यौल उत्पन्न भएको थियो ।
यादवले बोर्ड गठन हुनुअघि गठित समितिले आफूलाई छनौट गरेकाले नियुक्ति पाउनुपर्ने माग गर्दै सर्वोच्च अदालतमा मुद्दा दायर गरेका थिए । सर्वोच्चले बोर्ड गठन हुनुअघि गठित समितिले सिफारिस गरेका यादवलाई नै नियुक्ति गर्न अन्तरिम आदेश दिएकाले ऊर्जा मन्त्रालयले सोमबार प्रस्ताव अघि बढाएको हो ।

No comments:

Post a Comment