Monday, December 31, 2012

लुम्बिनीमा वर्षेनि सड्दैछन् करौडौं विदेशी मुद्रा

काठमाडौं, १६ पुस– विश्वभरका बौद्ध धर्मावलम्बीको सबभन्दा ठूलो तीर्थस्थल लुम्बिनीमा चढाइने भेटीबापतको लाखौंलाख रुपैया“ कोठामा ‘डम्प’ गरेर राखिन्छ, कोठामै विभिन्न मुलुकका नागरिकले चढाएको नोट सडेर या कीराले खाएर नष्ट गइरहेको छ भन्ने कुरा कमैलाई विश्वास लाग्ला । तर, सरकार र राष्ट्रबैंकले कुनै पहल नगरिदिएका कारण लुम्बिनीमा बौद्धमार्गीले १९ वर्षदेखि चढाउ“दै आएको करोडौं रुपैया“ कागजको खोस्टा सरह ‘डम्प’ गरिएको छ, जसमध्ये धेरैजसो सडेर गइसकेको लुम्बिनी विकास कोषका कर्मचारी बताउ“छन् ।
ती कर्मचारीका अनुसार लुम्बिनीमा चढाइने विभिन्न मुलुकका पैसामध्ये विशेष गरी श्रीलंका, बर्मा, क्याम्बोडिया र भियतनामका बौद्धमार्गीले चढाउ“दै आएका ती देशका नोट कागजको खोस्टा सरह डम्प गरेर राखिएको छ । ती मुलुकका नोट नेपालमा नचल्ने भएकाले कोषले साट्न नपाएका कारण समस्या परेको हो । ती मुलुकका नागरिकले मासिक सरदर ३ लाख नेपाली रुपैया“बराबरको पैसा चढाउ“छन्, अझ पर्यटकीय सिजनमा भने ती मुलुकका नागरिकले महिनाको १० लाख रुपैया“सम्म चढाउ“छन् । ती मुलुकबाहेक नेपालमा पैसा नचल्ने अरू देशका नागरिकले समेत आ–आफ्नो मुलुकको नोट चढाउ“छन्, तर त्यो त्यति ठूलोमात्रामा नभएको कोषका कर्मचारी बताउ“छन् ।
कोषले २०५० सालदेखि अशोक स्तम्भमा एउटा र मायादेवी मन्दिरमा दुइटा डोनेसन बक्स (दानपेटी) राखेको छ । ‘मुलुकमा सटही हुने विभिन्न देशका बौद्र्धमार्गीले चढाउने रकम सजिलै साट्न सकिने भएकाले कुनै समस्या छैन, जुन राजस्वमा जम्मा गरेर लुम्बिनीको विकासमा खर्च भइरहेको छ, तर श्रीलंका, बर्मा, क्याम्बोडिया र भियतनामलगायतका मुलुकका नोट नेपालमा नचल्ने भएकाले ती देशका नागरिकले वर्षेनि चढाउने ती मुलुकका करौडौं रुपैया“बराबरका नोट प्लास्टिकको बोरामा कोचेर १९ वर्षदेखि कार्यालय कोठामा थन्क्याएर राखेका छौं । ती मुलुकका नोट सडेर र कीराले खाएर नष्ट भइरहेका छन् । लुम्बिनीको विकासमा महत्वपूर्ण योगदान पुग्ने त्यति ठूलो रकम साट्न नपाएका कारण खेर गइरहेको छ’ कोषका एक अधिकारीले कान्तिपुरसित भने ।
कोषले दानपेटी भरिएपछि विभिन्न कार्यालयका प्रतिनिधिको रोहबरमा खोलेर पैसा गन्ती गरी राख्ने गरेको छ । ती मुलुकका नोट नचल्ने भएकाले प्रतिनिधि र कर्मचारीहरूले ‘म एउटा नोट लान्छु’ भन्दै लाने गर्नाले समेत दुरुपयोग भइरहेको छ । तर, एक वर्षदेखि कडाइ गरिएकाले प्रतिनिधि र कर्मचारीले त्यसरी नोट लान नपाउने व्यवस्था गरिएको जानकारी कोषका कोषाध्यक्ष ओम अर्यालले दिए । उनका अनुसार छ महिनादेखि सीसीटीभी राखेर दानपेटी खोल्ने गरिएको र नोट राखिएको ठाउ“मा समेत सीसीटीभी राखिएकाले दुरुपयोग पूर्णरूपमा रोकिएको छ ।
सरकार र राष्ट्रबैंकले पहल नगरे पनि कोषले आफ्नोस्तरबाट श्रीलंका, बर्मा, क्याम्बोडिया र भियतनामको पैसा साट्ने प्रयास गरेको, तर सफल नभएको जानकारी अर्यालले दिए । एकपटक लुम्बिनीमा रहेको श्रीलंकाली स्तुपाका भिक्षुमार्फत् श्रीलंकन नोट साट्न श्रीलंका पठाउ“दा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भिक्षु नोटसहित पक्राउ परेपछि कोषका पदाधिकारी नै अप्ठ्यारामा परेको र कोषको प्रयास असफल हुन पुगेको अर्यालले बताए । चार मुलुकमा पनि लुम्बिनीमा सबभन्दा बढी श्रीलंकन नोट चढाइन्छ । उनले त्यही कारण कोषले नेपालस्थित श्रीलंकाली राजदूतलाई नोट साट्नका लागि सहयोग गर्न अनुरोध गरेको, तर पहल गर्ने आश्वासन पाए पनि व्यवहारमा काम हुन नसकेको बताए ।
भेटीबापत लुम्बिनीमा हुने करोडौं रुपैया“ बराबरको आम्दानी खेर गइरह“दा पनि सरकारले कुनै पहल नगरिदिएकामा कोषका पदाधिकारीहरू चिन्ता व्यक्त गर्छन् । ‘सरकारले कूटनीतिकस्तरमा पहल गर्ने हो भने श्रीलंका, बर्मा, भियतनाम र क्याम्बोडियाका बौद्धमार्गीले वर्षेनि चढाउने करोडौं रुपैया“ साटेर लुम्बिनीको विकासमा लगाउन सकिन्थ्यो, तर, सरकार गम्भीर नभएकाले त्यति ठूलो रकम डम्प भएर र सडेर गइरहेको छ’ अर्यालले भने ।
अर्यालले सटही दर नतोकिएका मुलुकका नोट चल्दैन भनेर राष्ट्रबैंकले नसाटिदिने गरेका कारण लुम्बिनीमा चढाइएका श्रीलंका, बर्मा, भियतनाम, क्याम्बोडियालगायतका मुलुकका नोट डम्प गरिराख्नुपर्दा कीराले खाएर र कुहिएर गइरहेको बताए । राष्ट्रबैंकका प्रवक्ता भाष्करमणि ज्ञवालीले मन्दिरमा चढाइएको पैसा हो भनेर संकलन गरी ल्याएमा सटही दर नतोकिएका मुलुकका नोटसमेत बैंकले साटिदिने दाबी गरे ।





















No comments:

Post a Comment