Wednesday, December 26, 2012

भारतबाट थप ७० मेगावाट विद्युत् आयात गर्न अर्को साता वार्ता हुने

काठमाडौं, ११ पुस– नेपाल विद्युत् प्राधिकरणका उच्च अधिकारीहरू मुलुकको लोडसेडिङ कम गर्न भारतबाट थप बिजुली आयात गर्नका लागि भारतीय अधिकारीहरूसित वार्ता गर्न अर्को साता नया“ दिल्ली जाने भएका छन् ।
मुलुकले दैनिक बाह्र घन्टा लामो लोडसेडिङको समस्या भोगिरहेका बेला प्राधिकरणका कार्यकारी निर्देशक रामेश्वर यादवको नेतृत्वमा भारतको जलस्रोत मन्त्रालय र ऊर्जा दलाल कम्पनी पावर ट्रेडिङ कर्पोरेसनका अधिकारीसित वार्ता गर्न जान लागेको हो ।
प्राधिकरणको टोली भारत जाने दिन तय हुन बाँकी छ । प्राधिकरणका कार्यकारी निर्देशक यादवले आफूहरूले भारतीय अधिकारीसत वार्ताका लागि अर्को साता आउने प्रस्ताव गरिसकेको जानकारी दिंदै भारतीय पक्षलाई अनुकूल हुने आगामी साताको कुनै दिन आफूहरू भारत जाने जानकारी दिए ।
नेपाली टोलीले भारतीय अधिकारीसित वार्ता गरी भारतबाट तत्काल थप ७० मेगावाट विद्युत् दिन सहमत गराउन प्रयास गर्ने जानकारी प्राधिकरणका अधिकारीले दिए ।
ती अधिकारीका अनुसार भारतबाट हाल १ सय २० मेगावाटको हाराहारीमा विद्युत् आयात भइरहेको छ । भारतबाट हाल सम्भाव्य सबै बिन्दुका प्रसारण लाइनबाट १ सय ९० मेगावाट विद्युत् आयात गर्न सकिन्छ ।
भारतबाट तत्काल थप ७० मेगावाट विद्युत् आयात गर्न सके मुलुकमा दैनिक २ घन्टाभन्दा बढी लोडसेडिङ घटाउन सकिने जानकारी प्राधिकरणका अधिकारीले दिए ।
‘प्राधिकरणको सञ्चालक समितिको निर्णयअनुसार हामी अर्को साता भारत जा“दैछौं । भारतबाट हाल १ सय ९० मेगावाट विद्युत् आयात गर्न सकिने अवस्था छ, तर भारतले १ सय २० मेगावाटमात्र दिइरहेको छ । हामीले १ सय ९० मेगावाट नै विद्युत् दिन भारतको जलस्रोत मन्त्रालय र पावर ट्रेड कर्पोरेसनका अधिकारीसित वार्ता गर्नेछौं’ यादवले भने– ‘अर्कोतर्फबाट भारतबाट थप बिजुली आयात गर्न भारत र नेपाल दुवैतर्फका सीमानजिकका प्रसारण लाइन सुदृढीकरण गर्न आवश्यक छ । हामीले त्यहा“को जलस्रोत मन्त्रालयका अधिकारीसत भारततर्फको प्रसारण लाइन सुदृढीकरण गर्न आग्रह गर्नेछौं, हाम्रातर्फ प्रसारण लाइन हामीले नै सुदृढीकरण गरी भारतबाट थप बिजुली आयात गर्न सक्ने वातावरण निर्माण गर्नेछौं ।’
नेपाल–भारतबीचको निर्माणाधीन १ हजार मेगावाट विद्युत् आयात–निर्यात गर्न सकिने अन्तरदेशीय प्रसारण लाइनको निर्माण कार्यलाई तीव्रता दिनेबारेमा समेत प्राधिकरणका अधिकारीले भारतीय अधिकारीसित वार्ता गर्ने जानकारी स्रोतले दिए ।


No comments:

Post a Comment