Saturday, June 15, 2013

जापानले चिनियाँलाई विश्वास नगरेपछि अर्कै कम्पनीलाई ठेक्का

  • मेलम्चीको पानी प्रशोधन संरचनाको ठेक्का अस्ट्रिया र भारतको संयुक्त कम्पनीलाई
  • मेलम्चीबाट आगामी २०७२ मंसिरमा राजधानीमा काठमाडौं आउने
काठमाडौं, १ असार– जापानी अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) ले चिनिया“ ठेकेदारलाई विश्वास नगरेपछि मेलम्ची खानेपानी आयोजनाको सुन्दरीजलमा बनाइने पानी प्रशोधन संरचना निर्माणको ठेक्का अस्ट्रिया र भारतको संयुक्त लगानी रहेको कम्पनीलाई दिइएको छ ।
नेपालसहित विभिन्न मुलुकमा चिनिया“ ठेकेदारको काम सन्तोषजनक नपाइकाले चीनको सीडब्लूईले सबभन्दा कम रकम प्रस्ताव गरे पनि मेलम्ची आयोजनाको सुरुङपछिको दोस्रो ठूलो संरचना पानी प्रशोधन संरचना निर्माणको ठेक्का अर्को कम्पनीलाई दिइएको हो ।
पानी प्रशोधन संरचना निर्माणका लागि आवश्यक रकम सहयोग गरेको जाइकाले सीडब्लूईले टेन्डरमा राखेका अनुभवसम्बन्धी कागजातमा गरिएको दाबी झूटो रहेको र उसले श्रीलंकासहित विभिन्न मुलुकमा सन्तोषजनक काम गरेको नपाइएको भन्दै दोस्रो बढी रकम प्रस्ताव गरेको कम्पनीको ठेक्का स्वीकृत गरेको हो ।
मेलम्ची खोलाबाट बा“ध बा“धी सा“ढे २७ किलोमिटर लामो सुरुङबाट दैनिक ल्याइने १७ करोड लिटर पानी प्रशोधन गर्न बनाइने जापानी स्टान्डर्डको संरचना निर्माणको ठेक्का ४ अर्ब २० करोड रुपैया“ प्रस्ताव गरेको अस्ट्रियाको भीएटेक डब्लुएबीएजी लिमिटेड र भारतको प्रतिभा इन्डस्ट्री लिमिटेडको जोइन्ट भेन्चरलाई दिइएको जानकारी मेलम्चीको खानेपानी आयोजनाका प्रमुख कृष्ण आचार्यले जानकारी दिए ।
जबकि चिनिया“ कम्पनी सीडब्लूईले ज्वाइन्ट भेन्चरको भन्दा ४ करोड कम अर्थात् ४ अर्ब १६ करोड रुपैया“मा पानी प्रशोधन संरचना निर्माण गर्ने प्रस्ताव गरेको थियो । तेस्रो प्रस्तावक जापानी कम्पनी हिटाचीले भने ४ अर्ब ५० करोडमा पानी प्रशोधन संरचना निर्माण गर्ने प्रस्ताव गरेको थियो ।
मेलम्ची खानेपानी विकास समितिले तीनवटा कम्पनीको टेन्डर खोली स्वीकृतिका लागि गत मंसिरमा पठाए पनि चिनिया“ कम्पनीले सबभन्दा कम रकम प्रस्ताव गरेकाले ठेक्का स्वीकृति गर्न जाइकाले सात महिना लगाएको हो । जाइकाले श्रीलंकामा सीडब्लूईले काम गर्न नसकेका र टेन्डर दस्तावेजमा प्रस्तुत अनुभवसम्बन्धी सूचना गलत रहेको आधारमा उसको प्रस्ताव अस्वीकृत गरी अर्को कम्पनीको ठेक्का स्वीकृति गरेको स्रोतले उल्लेख गरेको छ ।
आगामी एक महिनाभित्र ठेकेदार कम्पनीसित ठेक्का परिचालन भएको २७ महिनामा पानी प्रशोधन संरचना निर्माण गरिसक्नुपर्ने शर्तमा ठेक्का सम्झौता हुनेछ । चार सातामा ठेक्का सम्झौता हुने र ठेक्का परिचालन गर्न २ महिना समय लाग्ने भएकाले संरचनाको निर्माण कार्य भदौ पहिलो साताबाट सुरु हुनेछ । आगामी २०७२ को मंसिरसम्ममा संरचना निर्माण कार्य सम्पन्न हुनेछ ।
यसैबीच एसियाली विकास बैंक (एडीबी) ले मेलम्चीबाट सुन्दरीजलसम्म पानी ल्याउने सुरुङ निर्माणको ठेक्का सबभन्दा कम रकम प्रस्ताव गरेको इटालियन कम्पनी सीएमसीलाई दिने मेलम्ची खानेपानी विकास समितिको निर्णयमा सहमति दिएको छ । सुरुङ निर्माणमा एडीबीको सहयोग भएकाले उसको स्वीकृति लिनुपरेको हो ।
सीएमसीले ७ अर्ब ७१ करोड रुपैया“मा मेलम्चीबाट राजधानीसम्म पानी ल्याउने सुरुङ (खन्न बा“की २१ किलोमिटर) निर्माण गर्ने र खोलामा बा“ध (इन्टेक) बनाउने ठेक्का पाएको हो । समितिले शुक्रबार नै सार्वजनिक सूचना प्रकाशित गरी उक्त कम्पनीलाई तत्काल ठेक्का सम्झौता गर्न आउन आग्रह गरेको छ । उससित तीन साताभित्र ठेक्का सम्झौता हुनेछ ।
समितिले सीएमसीलाई ३६ महिनाभित्र अर्थात् २०७३ असारभित्र सुरुङ र इन्टेक निर्माण गरिसक्नुपर्ने शर्तमा ठेक्का दिएको हो । असार मसान्तसम्ममा सीएमसीले सुरुङ निर्माण थाल्ने र छिटोमा २०७२ मंसिर र ढिलोमा  २०७३ असारमा काम सम्पन्न भई मेलम्चीबाट राजधानीमा पानी आउने जानकारी आयोजनाका अधिकारीले दिए ।
आयोजनाले सुरुङ निर्माण कार्य निर्धारित मितिभन्दा आधा वर्षपहिले ३० महिनामा सम्पन्न गर्न ठेकेदारलाई बोनस दिने भएको छ । ठेकेदारले निर्धारित समयभन्दा जति दिन पहिले सुरुङ निर्माण कार्य सम्पन्न गर्छ, उसलाई त्यति दिनको कुल ठेक्का रकमको ०.०५ प्रतिशतका दरले आयोजनाले बोनस दिनेछ । छिटो काम सकेमा ठेकेदारले बढीमा कुल ठेक्का रकमको १० प्रतिशतसम्म बोनस पाउनेछ ।
असारमा निर्माण सुरु हुने सुरुङ ३० महिनामा र भदौमा काम सुरु हुने पानी प्रशोधन संरचना २७ महिनामा गरी दुवै एउटै समयमा सम्पन्न हुने विश्वास आयोजनाका अधिकारीको छ ।


No comments:

Post a Comment