Sunday, June 9, 2013

मेलम्चीद्वारा दुई बैंकसित डेढ अर्ब भराइदिन राष्ट्रबैंकलाई आग्रह

काठमाडौं, २६ जेठ– मेलम्ची खानेपानी विकास समितिले दुई नेपाली बैंकबाट ठेक्का रद्द भई जरिवानामा परेको चिनिया“ ठेकेदार कम्पनीले राखेको बैंक ग्यारेन्टीबापतको करिब डेढ अर्ब रुपैया“ रकम आफूलाई दिलाइदिन राष्ट्रबैंकलाई आग्रह गरेको छ ।
ठेक्का रद्द भएपछि जफत गरिएको बैंक ग्यारेन्टीबापतको डेढ अर्ब रुपैया“ दिन हिमालयन बैंक र बैंक अफ काठमाडौंले करिब ९ महिनादेखि आनाकानी गरेपछि समितिको बिहीबार बसेको बैठकले अर्थमन्त्रालयमार्फत् राष्ट्रबैंकलाई आग्रह गर्ने निर्णय गरेको हो । बैठकको निर्णयअनुसार समितिले दुई बैंकबाट उक्त रकम दिलाइदिन अर्थमन्त्रालयमार्फत् पत्र पठाई राष्ट्रबैंकलाई गुहारिएको हो ।
जफत गरिएको ठेकेदारको बैंक ग्यारेन्टीबापतको रकम बैंक अफ काठमाडौंमा ७६ करोड २० लाख र हिमालयन बैंकमा ५९ करोड ४० रुपैया“ छ । तर, ती दुई बैंकले उक्त रकम समितिलाई बुझाउन आलटाल गर्दै आएका छन् ।
राष्ट्रबैंकलाई आफ्नो नियमनभित्र रहेका बैंकहरूलाई उसको दायित्वअनुसार बुझाउनुपर्ने रकम सम्बन्धित कार्यालय या या कम्पनीलाई भराइदिन सक्ने कानुनी अधिकार भएकाले समितिले उक्त बाटो अख्तियार गरेको हो ।
समितिले सन्तोषजनक रूपमा काम गर्न नसकेपछि मेलम्चीबाट राजधानीसम्म पानी ल्याउने सुरुङ निर्माणको ठेक्का पाएको ठेकेदार कम्पनी चाइना रेल्बे फिफ्टिन ब्युरोसित गत असोजमा ठेक्का सम्झौता रद्द गरी उसले दुई बैंकमा राखेको बैंक ग्यारेन्टी जफत गर्ने निर्णय गरेको थियो ।
समितिले गत असोजमा नै ती दुई बैंकले बैंक ग्यारेन्टी जफत गर्ने निर्णय भएको जानकारी गराई उक्त रकम तत्काल आफूलाई उपलब्ध गराउन लिखित आग्रह गरेको थियो । तर, पटकपटक ताकेता गर्दा पनि ती बैंकले उक्त रकम दिएका छैनन् ।
चिनिया“ ठेकेदारले चिनिया“ बैंकमा बैंक ग्यारेन्टी राखेको छ । चिनिया“ बैंककै ग्यारेन्टीमा दुई नेपाली बैंक ठेकेदारको काउन्टर ग्यारेन्टी बसेका हुन् । कानुनअनुसार जफत भएको बैंक ग्यारेन्टी बैंकहरूले तुरुन्त सम्बन्धित समिति या कार्यालयलाई भुक्तानी गर्नुपर्छ ।
तर, ती दुई बैंकले चिनिया“ बैंकबाट रकम नआएको उल्लेख गर्दै तिर्न आलटाल गरेको स्रोतले उल्लेख गरेको छ । ती बैंकका अधिकारीले चीनमा उक्त ठेकेदारले मुद्दा हालेको र निर्णय नभइसकेकाले चिनिया“ बैंकले रकम नदिएको दाबी गर्दै भुक्तानी गर्न आनाकानी गर्दै आएका छन् ।
‘तुरुन्त भुक्तानी गर्नुपर्ने जफत भइसकेको रकम दिन बैंकहरूले ढिलाइ गरिरहेपछि समितिले अर्थमन्त्रालयमार्फत् राष्ट्रबैंकलाई आग्रह गरी असुलउपर गर्ने निर्णय गरेको हो’ समितिका सदस्यसचिव एवं मेलम्ची खानेपानी आयोजना प्रमुख कृष्ण आचार्यले जानकारी दिए ।
चिनिया“ ठेकेदारले सन् २००९ मा आयोजना सन् २०१३ मा सम्पन्न गर्ने शर्तमा साढे २७ किमी सुरुङ र इन्टेक बनाउन ४ अर्ब २८ करोड रुपैया“मा ठेक्का लिएको थियो । ठेक्का पाउनासाथ चिनिया“ ठेकेदारले कुल ठेक्का रकमको १० प्रतिशत ६० लाख अमेरिकी डलर (५९ करोड ४० लाख रुपैया“) हिमालयन बैंकमा परफमेन्स ग्यारेन्टी राखेको थियो ।
ठेकेदारले सुरुङको काम सुरु गर्न एड्भान्सबापत् लिएको ७६ करोड २० लाख रुपैया“बराबरको एड्भान्स ग्यारेन्टी बैंक अफ काठमाडौंमा राखेको थियो । तर, दुवै बैंकबाट आफूले जफत गरेको समितिले नौ महिनादेखि पाउन सकेको छैन ।
साढे २७ किलोमिटर सुरुङ निर्माण कार्य सन् २०१३ मा सक्ने शर्तमा ठेक्का लिए पनि चिनिया“ ठेकेदारले चार वर्षभन्दा बढी समय भइसक्ता पनि जम्मा साढे ६ किमीमात्र सुरुङ खनेपछि समितिले उससितको ठेक्का रद्द गरेको हो ।

No comments:

Post a Comment