Friday, October 11, 2013

ओखलढुंगामा कांग्रेसका दुवै बागीद्वारा उम्मेदवारी फिर्ता

काठमाडौं, २५ असोज– ओखलढुंगाका दुवै निर्वाचन क्षेत्रका नेपाली कांग्रेसका बागी उम्मेदारले पार्टीको आधिकारिक उम्मेदवारलाई समर्थन गर्दै आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् ।
क्षेत्र नं. २ का बागी उम्मेदवार अशोककुमार कार्कीले शुक्रबार वक्तव्य जारी गरी पार्टीका आधिकारिक उम्मेदवार रामहरि खतिवडाको समर्थन गर्दै उम्मेदवारी फिर्ता लिएको जनाएका छन् ।
क्षेत्र नं. १ का बागी उम्मेदवार महेश कर्मोचाले अघिल्लो दिन नै पार्टीका आधिकारिक उम्मेदवार बालकृष्ण दाहाललाई समर्थन गर्दै मनोनयन फिर्ता लिएका छन् । कर्मोचाले भने निर्वाचन कार्यालयबाटै मनोनयन फिर्ता लिएका हुन् ।
कार्कीले वक्तव्यमा सभापति सुशील कोइराला, वरिष्ठ नेता शेरबहादुर देउवासहितको आग्रह र निर्देशनमा आफूले उम्मेदवारी फिर्ता लिएको उल्लेख गर्दै पार्टीका उम्मेदवार खतिवडालाई सहयोग गर्ने वचनबद्धता व्यक्त गरेका छन् ।
वक्तव्यमा उनले आफूले उम्मेदवारी निस्तेज पारिसकेकाले आफ्नो चुनाव चिह्नमा नभई कांग्रेसको रूख चिह्नमा मतदान गर्नसमेत पार्टी कार्यकर्ता, शुभेच्छुक तथा आममतदातालाई अपिल गरेका छन् ।


२०७०/६/२५

प्रेस वक्तव्य


    उपरोक्त सम्बन्धमा यही मिति २०७० साल मंसिर ४ गते सम्पन्न हुने दोस्रो संविधानसभाको निर्वाचनमा ओखलढुंगा जिल्ला निर्वाचन क्षेत्र नं. २ को आकांक्षी उम्मेदवार भई क्षेत्रीय कार्यसमितिबाट सिफारिश भई आएकोमा संसदीय समितिबाट विवेकपूर्ण निर्णय नभएको भन्ने अनुुभूति हुँदा मैले ओखलढुंगा निर्वाचन क्षेत्र नं. २ बाट स्वतन्त्र उम्मेदवारी दिई निर्वाचन चिन्ह समेत प्राप्त भएकोमा नेपाली कांग्रेसका आदरणीय सभापति, वरिष्ठ नेता सहित शीर्ष नेताहरुबाट उम्मेदवारी फिर्ता गरी पार्टीका आधिकारिक उम्मेदवारलाई सहयोग गर्न निर्देशन गर्नु भएकोले चित्त बुुझि मेरो उम्मेदवारी निस्तेज गरी पार्टीका आधिकारिक उम्मेदवार श्री रामहरि खतिवडालाई सहयोग गर्ने वचनवद्धता जाहेर गर्दछु । साथै, मेरो चुनाव चिन्हमा मतदान नगरी नेपाली कांग्रेसको चुनाव चिन्ह ‘रुख’ मा मतदान गरिदिनुहुन सबैमा म हार्दिक अनुरोध गर्दछु । मेरो उम्मेदवारीले पार्टी तथा ओखलढुंगा जिल्ला क्षेत्र नं. २ का पार्टी पंक्तिका शुुभेच्छुक समर्थक साथीहरुलाई पर्न गएको पीडा प्रति क्षमायाचना गर्दै म र मेरा प्रस्तावक नेपाली कांग्रेस ओखलढुंगाका पूर्व जिल्ला सदस्य श्री शान्तिराज खड्का र समर्थक क्षेत्र नं. २ का महासमिति सदस्य श्री जितेन्द्रबहादुर कार्कीलाई समेत पार्टीबाट हुने कारवाही नगरिदिनु हुन सादर अनुरोध गर्दछु ।

    अशोककुमार कार्की
    महाधिवेशन प्रतिनिधि
    एवं पूर्व सचिव, जिल्ल कार्य समिति, ओखलढुंगा
    नेपाली कांग्रेस

   
   

No comments:

Post a Comment