Sunday, October 6, 2013

गृह मन्त्रालयद्वारा आलममाथिको आक्रमणको छानबिन गर्न समिति गठन

सबै उम्मेदवारलाई पर्याप्त सुरक्षा दिन जिल्ला प्रशासन र प्रहरीलाई निर्देशन
काठमाडौं, २० असोज– सरकारले बारा जिल्ला निर्वाचत क्षेत्र नं. ४ का नेकपा एमालेका उम्मेदवार महमुद आलममाथि शुक्रबार अज्ञात व्यक्तिहरूबाट भएको गोली प्रहारको घटनाका सम्बन्धमा छानबिन गर्न शनिबार एआईजी दिनकरसमसेर राणाको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको छ । निर्वाचन प्रचार क्रममा रहेका आलममाथि गोली प्रहार गरिएको भोलिपल्ट गृह मन्त्रालयले छानबिन समिति गठन गरेको हो ।
छानबिन समितिमा मध्यमाञ्चलका डीआईजी विज्ञानराज शर्मा र राष्ट्रिय अनुसन्धान विभाग, क्षेत्रीय कार्यालय, मध्यमाञ्चलका अनुसन्धान निर्देशक (डीआईजी) देवराज भट्ट सदस्य छन् । समितिलाई उक्त घटनाका सम्बन्धमा छानबिन गरी सत्यतथ्य पत्ता लगाएर सात दिनभित्र प्रतिवेदन पेस गर्ने जिम्मेवारी दिइएको गृह मन्त्रालयद्वारा शनिबार सा“झ जारी विज्ञप्तिमा उल्लेख छ । समितिले आइतबार नै घटनास्थल पुगी छानबिन कार्य थाल्ने जानकारी गृह मन्त्रालयका अधिकारीले दिए ।
‘एमालेका उम्मेदवार आलममाथि शनिबार अज्ञात व्यक्तिहरूबाट भएको गोली प्रहारको घटनासम्बन्धमा मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ । उक्त घटनासम्बन्धमा अनुसन्धान कार्य जारी रहेको छ । अनुसन्धान कार्यलाई तीव्रता दिई घटनाको सत्यतथ्य पत्ता लगाई छानबिन गरी सात दिनभित्र प्रतिवेदन पेस गर्न एआईजी राणाको संयोजकत्वमा छानबिन समिति गठन गरिएको छ’ गृहको वक्तव्यमा छ ।
मन्त्रालय संविधानसभा चुनावमा सम्पूर्ण उम्मेदवारलाई पर्याप्त सुरक्षा दिन गम्भीर र संवेदनशील रहेको जानकारी गृहका अधिकारीले दिए । आलममाथि गोली प्रहारको घटना हुनेबित्तिकै गृह मन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयहरूलाई सम्पूर्ण उम्मेदवारको व्यक्तिगत सुरक्षाको व्यवस्था मिलाउन शुक्रबार नै निर्देशन दिइसकेको जानकारी मन्त्रालयका शान्ति सुरक्षा महाशाखा प्रमुख एवं प्रवक्ता शंकर कोइरालाले दिए ।
आलममाथि गोली प्रहारको घटना भएपछि मन्त्रालय उम्मेदवारहरूको सुरक्षाप्रति गम्भीर र संवदेनशील भएर तत्काल जिल्ला प्रशासन कार्यालय र सबै सुरक्षा निकायहरूलाई निर्देशन दिइएको गृहका अधिकारी बताउ“छन् ।
‘उम्मेदवारलाई पर्याप्त सुरक्षा दिन गृह मन्त्रालय गम्भीर छ’ कोइरालाले भने– ‘मन्त्रालयले उम्मेदवारहरूलाई उनीहरूको सुरक्षा थ्रेटको अवस्था विश्लेषण गरी आवश्यकताअनुसार पर्याप्त सुरक्षा व्यवस्था मिलाउन सबै जिल्ला प्रशासन र प्रहरी कार्यालयलाई लिखित निर्देशन दिएको छ ।’ उनका अनुसार गृह मन्त्रालयले संविधानसभा चुनावलाई निष्पक्ष, भयरहित तथा शान्तिपूर्ण रूपमा सम्पन्न गर्न त्रुटिरहित सुरक्षा व्यवस्था मिलाउन स्थानीय प्रशासनलगायत सबै सुरक्षा निकायलाई निर्देशन दिइसकेको जनाएको छ ।
नेपाल प्रहरी स्वयंंले समेत आलममाथि गोली प्रहार भएको घटनाको अपराध अनुसन्धान ब्युरोको एउटा टोली पठाएर शुक्रबारदेखि नै छानबिन थालेको छ । ‘अपराध अनुसन्धान ब्युरोका एसपी ईश्वरबाबु कार्कीको कमान्डमा एउटा टोली बाराको घटनास्थलमा शुक्रबार नै पुगेर छानबिन थालिसकेको छ’ नेपाल प्रहरीका प्रवक्ता नवराज सिलवालले जानकारी दिए ।
प्रहरीको छानबिन टोलीले आलममाथिको आक्रमण चुनाव बहिष्कार गरी असफल पार्ने अभियानमा लागेका तराई–मधेसका सशस्त्र समूह या कुनै पार्टी विशेषबाट निर्वाचनलाई प्रभावित पार्ने उद्धेश्यले नभई अरूले नै गरेको हुन सक्ने प्रारम्भिक निष्कर्ष निकालेको जानकारी एक प्रहरी अधिकारीले दिए ।
‘पेशेवर सार्प सुटर प्रयोग गरी जसरी आलममाथि गोली हानिएको छ । त्यसबाट यो आक्रमण सञ्चार उद्यमी जमिम साहलगायतका मुस्लिम समुदायका प्रभावशाली व्यक्तिमाथि जस्तै बाहिरी षड्यन्त्रबाट आक्रमण भएको हाम्रो प्रारम्भिक निष्कर्ष छ’ मध्य क्षेत्रका एक प्रहरी अधिकारीले भने– ‘यो चुनावलाई प्रभावित पार्न तराई–मधेसका सशस्त्र समूह या कुनै पार्टी विशेषले गरेको घटनाजस्तो लाग्दैन ।’







No comments:

Post a Comment