Tuesday, April 10, 2018

एकैपटक ३० सचिवको सरुवा

सरुवाको प्रमुख आधार राजनीतिक आस्था र पहुँच
काठमाडौं, २३ चैत– सरकारले एकैपटक विभिन्न मन्त्रालय र निकायका ३० जना सचिवलाई सरुवा गरेको छ । प्रधानमन्त्री केपी ओली भारत भ्रमणमा जानुअघि शुक्रबार बिहान बसेको मन्त्रिपरिषद बैठकले सत्तारुढ पार्टी एमाले र माओवादी केन्द्र तथा तिनका पहु“चवाला नेताको निकट सचिवहरूलाई छानी छानी ‘आकर्षक’ र ‘पावरफुल’ मन्त्रालयमा सरुवा गरेको छ । तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाका पालामा आकर्षक र पावरफुल मन्त्रालयमा रहेका कांग्रेस र तिनका पहु“चवाला निकट सचिवहरूलाई भने दायित्व कम भएका निकायमा थन्क्याइएको छ ।
शक्तिशाली मन्त्रीहरूले आफ्नो पार्टी निकटमात्र नभई आफूले भनेको हुबहु मान्ने सचिवहरूलाई आफ्नो मन्त्रालयमा ल्याएका छन् । कतिपय मन्त्रीले भने आफ्नो जिल्ला या भेगका सचिवलाई आफ्नो मन्त्रालयमा ल्याएका छन् । मन्त्रिपरिषदले धेरै सचिवलाई एमाले र माओवादी निकट कर्मचारी संगठनको सिफारिसमा राम्रा मन्त्रालयमा लगेकोसमेत स्रोतले उल्लेख गरेको छ । कांग्रेसको पालामा प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय र विभिन्न साना निकायमा थन्क्याइएका सचिवहरूले यसपटक आकर्षक मन्त्रालय पाएका छन् । विभिन्न मन्त्रालय र निकायमा रहेका ४८ सचिवमध्ये एकैपटक ३० जनालाई सरुवा गरिएको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय स्रोतका अनुसार गृह मन्त्रालयका सचिव मोहनकृष्ण सोपकोटालाई युवा तथा खेलकुद मन्त्रालयमा, शिक्षा सचिव मधु रेग्मीलाई सार्वजनिक खरिद अनुगमन कार्यालयमा सरुवा गरिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिवद्वय प्रेमकुमार राई र खगराज बराललाई क्रमशः गृह तथा शिक्षा मन्त्रालयमा सारिएको छ ।
अर्थमन्त्रालयका सचिव शंकर अधिकारीलाई उपराष्ट्रपति कार्यालयमा लगिएको छ भने अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव राजन खनाललाई अर्थसचिवमा सारिएको छ ।  प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव महेन्द्रमान गुरुङलाई सूचना तथा सञ्चार मन्त्रालयमा र सञ्चार सचिव केदारबहादुर अधिकारीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा लगिएको छ ।
सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिव महेश्वर न्यौपानेलाई अख्तियारमा लगिएको छ । योजना आयोगका सचिव विष्णु लम्साललाई रक्षा मन्त्रालयको सचिवमा सरुवा गरिएको छ । रक्षा सचिव विनोद केसीलाई राष्ट्रपति कार्यालयमा तथा प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको अतिरिक्त समूहमा रहेका शरदचन्द्र पौडेललाई योजना आयोगमा लगिएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव (आपूर्ति) अनिल ठाकुरलाई महिला आयोगमा सारिएको छ ।
पुनर्निर्माण प्राधिकरणका सचिव मधुसुदन अधिकारीलाई भौतिक पूर्वाधार मन्त्रालयमा सरुवा गरिएको छ । भौतिक पूर्वाधारका सचिव देवेन्द्र कार्कीलाई नेपाल ट्रष्टको कार्यालयमा सारिएको छ । ट्रष्टका सचिव अर्जुनकुमार कार्कीलाई पुनर्निर्माण प्राधिकरणमा लगिएको छ । 
युवा तथा खेलकुद मन्त्रालयका सचिव महेशप्रसाद दाहाललाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा सरुवा गरिएको छ । वन सचिव युवकध्वज जीसीलाई कृषि मन्त्रालयमा सारिएको छ ।  कृषि मन्त्रालयका सचिव (पशुपक्षी) सचिव विश्वनाथ ओलीलाई वन मन्त्रालयमा लगिएको छ ।
प्रदेश १ का कामु मुख्यसचिव यादवप्रसाद कोइरालालाई काठमाडौं महानगरपालिकाको कार्यकारी अधिकृतमा सरुवा गरिएको छ । राष्ट्रपति कार्यालयका सचिव भूपेन्द्रप्रसाद पौडेललाई सूचना आयोगमा तथा योजना आयोगका विष्णु लम्साललाई रक्षा मन्त्रालयमा सारिएको छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव लक्ष्मण मैनालीलाई प्रधानमन्त्री कार्यालयमा, उपराष्ट्रपति कार्यालयका सचिव लालशंकर घिमिरेलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा सरुवा गरिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको अतिरिक्त समूहमा रहेका सचिव कृष्णराज बीसीलाई खानेपानी मन्त्रालयमा सरुवा गरिएको छ । खानेपानी मन्त्रालयका गजेन्द्र ठाकुरलाई शिक्षा मन्त्रालयको विज्ञान तथा प्रविधि सचिवमा सारिएको छ । विज्ञान तथा प्रविधि सचिव सञ्जय शर्मालाई ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयमा सारिएको छ ।


No comments:

Post a Comment