Friday, April 6, 2018

पुराना कम्युनिस्ट नेता रेग्मीको निधन


काठमाडौं, २२ चैत– ०१५ सालमा निर्वाचित पहिलो प्रतिनिधिसभाका सांसद एवं पुराना वामपन्थी नेता कमलराज रेग्मीको बिहीबार निधन भएको छ । ललितपुरको धोबीघाटस्थित निवासमा ९२ वर्षको उमेरमा रेग्मीको निधन भएको जानकारी पारिवारिक स्रोतले दिएको छ ।

रेग्मी ०१५ को प्रतिनिधिसभामा निर्वाचित नेपाल कम्युनिस्ट पार्टीका चार नेतामध्ये एक थिए । पञ्चायती व्यवस्था सुरु हुनुभन्दा पहिले कम्युनिस्ट पार्टीको जुझारु र सक्रिय नेता रेग्मीको किसान आन्दोलनमा समेत महŒवपूर्ण भूमिका थियो । पाल्पामा भएको किसान आन्दोलनको नेतृत्व उनैले गरेका थिए ।

२०१७ साल पुस १ मा तत्कालीन राजा महेन्द्रले प्रतिगामी कदम चालेकै दिन पक्राउ परेका उनी लामो समय जेल परेका थिए । वामपन्थी नेताहरू विष्णुबहादुर मानन्धर, मोहनविक्रम सिंह, चित्रबहादुर केसीलगायत धोबीघाट पुगेर रेग्मीप्रति श्रद्धाञ्जली प्रकट गरे । उनका श्रीमती तथा एक छोरा र एक छोरी छन् । रेग्मीको अन्त्येष्टि चितवनको देवघाटमा शुक्रबार गरिने पारिवारिक स्रोतले जनायो ।

No comments:

Post a Comment