Thursday, April 12, 2018

भर्ना अभियानलाई सहयोग गर्न मन्त्रिपरिषदको आहवान

काठमाडौं, २७ चैत– सरकारले शिक्षाबाट वञ्चित गरीब, विपन्न, सीमान्तकृत, लोपोन्मुख समुदायका बालबालिकाको स्वेच्छिक अभिभावकत्व ग्रहण गरी विद्यालयमा भर्ना गराउन सबैमा आह्वान गरेको छ । मन्त्रिपरिषदको मंगलबार बसेको बैठकले शिक्षाको अवसरबाट वञ्चित समुदाय र वर्गका बालबालिकामध्ये एक/एक बालबालिकाको खोजी गरी विद्यालयमा भर्ना गराउन र स्वेच्छिक अभिभावकत्व ग्रहण गर्न सबैमा आह्वान गर्ने निर्णय गरेको जानकारी सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाले दिए ।
उनका अनुसार सरकारले प्रधानमन्त्री, मन्त्री, सम्पूर्ण दलका पदाधिकारी, संघ, प्रदेश र स्थानीय तहका जनप्रतिनिधि, उद्योगी, व्यापारी, बुद्धिजीवी, नागरिक समाज, सञ्चारकर्मी, रंगकर्मी, कलाकर्मी, प्राध्यापक, शिक्षाविद, पेशाकर्मी, कर्मचारी, सरकारी एवं गैरसरकारी संघसंस्था, शिक्षक महासंघ, विद्यालय व्यवस्थापन समिति, अभिभावक संघ, शिक्षक, विद्यार्थी, अभिभावकलगायत सम्पूर्णलाई सरकारका तर्फबाट स्वेच्छिक अभिभावकत्व ग्रहण गरिदिन आह्वान गरेको हो । 

सरकारले शिक्षाको अधिकारबाट वञ्चित तथा विद्यालय जान नसक्ने बालबालिकालाई शिक्षा दिने र अशिक्षालाई समाप्त गर्ने उद्धेश्यसहित भर्ना अभियान सुरु गरेको छ ।

No comments:

Post a Comment