Monday, March 31, 2014

आज प्रधानन्यायाधीशमा शर्माको नाम सिफारिस हुने

दोस्रो बैठकले तीन संवैधानिक निकायमा पदाधिकारी नियुक्त गर्ने
काठमाडौं १६ चैत– प्रधानमन्त्री सुशील कोइरालाले प्रधानन्यायाधीश नियुक्तिको सिफारिस गर्न सोमबार बिहान संवैधानिक परिषद्को बैठक बोलाएका छन् । परिषद् बैठकको एजेन्डा प्रधानन्यायाधीश नियुक्तिको सिफारिस गर्ने रहेको जानकारी प्रधानमन्त्री निकटस्थ स्रोतले दिएका छन् ।
परिषद्को बिहीबार बोलाइएको बैठक विपक्षी दलका नेता (एमाओवादी अध्यक्ष) पुष्पकमल दाहाललाई पुत्री शोक परेकाले बस्दै नबसी स्थगन भएको थियो । परिषद्को सोमबार बस्ने पहिलो बैठकले कायममुकायम प्रधानन्यायाधीश दामोदर शर्मालाई प्रधानन्यायाधीशमा नियुक्तिको सिफारिस गर्ने जानकारीसमेत स्रोतले दिएको छ ।
मुलुकमा २०४६ सालको जनआन्दोलनबाट बहुदलीय व्यवस्था पुनःस्थापना भएपछि सर्वोच्चका वरिष्ठ न्यायाधीशलाई प्रधानन्यायाधीश नियुक्त गर्ने परम्परा बसालिएको छ । शर्मा वरिष्ठ न्यायाधीशका नाताले कामु प्रधानन्यायाधीश छन् ।
प्रधानन्यायाधीशको हैसियतमा मन्त्रिपरिषद्का अध्यक्ष नियुक्त खिलराज रेग्मीले कांग्रेस सभापति सुशील कोइराला प्रधानमन्त्री नियुक्त भएकै दिन माघ २७ मा सर्वोच्च न्यायिक पदबाट राजीनामा दिएपछि उक्त पद रिक्त थियो । रेग्मी मन्त्रिपरिषद्मा नियुक्त भएपछि शर्मा झन्डै एक वर्षदेखि कामु प्रधानन्यायाधीश छन् ।
परिषद्ले शर्मालाई प्रधानन्यायाधीश नियुक्तिको सिफारिस गरेपछि उक्त निर्णय संसद्को सुनुवाइ समितिमा पठाइनेछ । संसद्ले सुनुवाइ समितिसमेत गठन गरिसकेको छ । सुनुवाइ समितिबाट शर्माको नाम अनुमोदन भएपछि राष्ट्रपतिले उनलाई प्रधानन्यायाधीश नियुक्त गर्नेछन् ।
पहिलो पटक परिषद्ले निवर्तमान हुन लागेका प्रधानन्यायाधीशको अनुपस्थितिमा नया“ प्रधानन्यायाधीश नियुक्तिको सिफारिस गर्ने भएको छ । हाल प्रधानन्यायाधीश नभएकाले त्यस्तो स्थिति आएको हो । यसअघि निवर्तमान हुन लागेका प्रधानन्यायाधीशसहितको परिषद् बैठकले नया“ प्रधानन्यायाधीश नियुक्तिको सिफारिस गर्ने प्रचलन थियो ।
प्रधानन्यायाधीश नियुक्तिपछि सर्वोच्चमा रिक्त १० स्थायी न्यायाधीश नियुक्तिको समेत बाटो खुल्नेछ । प्रधानन्यायाधीश नभएकाले न्याय परिषद्को बैठक बस्न पाएको छैन । न्यायाधीश कम भएकाले सर्वोच्चमा न्याय निरूपणमा ढिलाइ भई सयौं मुद्दा थुप्रिएर बसेका छन् ।
परिषद्को दोस्रो बैठकले संवैधानिक निकायहरू मानव अधिकार आयोग, अख्तियार र लोकसेवा आयोगमा रिक्त पदमा समेत नियुक्तिको सिफारिस गर्नेछ । दोस्रो बैठक प्रधानमन्त्रीले सोमबार नै परिषद्का सदस्यहरूसित छलफल गरी छिट्टै बोलाउने भएका छन् । मानव अधिकार आयोगमा अध्यक्षसहित सबै पदाधिकारी, अख्तियारमा तीन आयुक्त र लोकसेवामा दुई सदस्य रिक्त छन् ।

No comments:

Post a Comment