Sunday, March 9, 2014

बंगलादेशद्वारा नेपालबाट डलरमा बिजुली खरिदको प्रस्ताव

  • नेपालको जलविद्युत्मा लगानी गर्नसमेत तयार
  • दीर्घकालीन रूपमा ४ हजार मेगावाटसम्म विद्युत् किन्न इच्छुक
  • बंगलादेशको प्रस्तावले नेपालको जलविद्युत्मा लगानी आकर्षित
  • भारतसित ऊर्जासचिवस्तरीय संयुक्त समिति बन्ने
काठमाडौं, २५ फागुन– बंगलादेश सरकारले नेपालको जलविद्युत् क्षेत्रमा संयुक्त रूपमा लगानी गर्ने र यहा“बाट अमेरिकी डलरमा बिजुली किन्ने प्रस्ताव गरेको छ । ऊर्जा संकट बढ्दै गएको बंगलादेश सरकारका तर्फबाट त्यहा“का विद्युत्, ऊर्जा तथा खनिज स्रँेत मन्त्रालयका सचिव मनोवार इस्लामले त्यस्तो प्रस्ताव राखेका हुन् ।
उनले ऊर्जामन्त्री राधा ज्ञवाली र सचिव विश्वप्रकाश पण्डितसित बिहीबार भेटवार्ता गरी जलविद्युत् क्षेत्रमा लगानी गर्ने र डलरमा बिजुली खरिद गर्ने प्रस्ताव गरेको जानकारी ऊर्जा मन्त्रालयका प्रवक्ता केशवध्वज अधिकारीले दिए ।
इस्लाम विश्व बैंक समूहको अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) को पहलमा नेपालको जलस्रोत विकासको उच्च सम्भाव्यतालाई कसरी यथार्थमा रूपान्तरण गर्ने भन्ने विषयमा राजधानीमा मार्च ३ र ४ मा भएको कन्फरेन्समा सहभागी हुन आएका थिए । उक्त कन्फरेन्समा भारतका विद्युत् सचिव प्रदीपकुमार सिन्हासहितका अधिकारीसमेत सहभागी थिए । इस्लामले त्यही क्रममा ऊर्जामन्त्री ज्ञवालीसहित मन्त्रालयका अधिकारीसित भेटवार्ता गरेका हुन् ।
आईएफसी नेपालमा भारत र बंगलादेशको ऊर्जा संकटलाई समेत समाधान गर्ने सम्भावना भएका ठूला जलविद्युत् आयोजनामा लगानी आकर्षित गर्न र त्यसमा ऋण लगानी गर्न चाहिरहेको छ । त्यही कारण उसले तीन देशको सहभागिता र सहकार्यमा जलविद्युत् विकास गर्न समन्वय गर्ने पहल गरिरहेको छ ।
ऊर्जा मन्त्रालयका अधिकारीका अनुसार बंगलादेशले दीर्घकालीन रूपमा नेपालबाट उसले ४ हजार मेगावाटसम्म बिजुली खरिद गर्ने प्रस्ताव गरेको छ । बंगलादेशले हाल भारतबाट कमर्सियल दरमा भारतबाट ५ सय मेगावाट बिजुली खरिद गर्दै आएको छ ।
मूलतः प्राकृतिक ग्यासबाट उत्पादन हुने ऊर्जामा भर पर्दै आएको बंगलादेशले हाल ८ हजार मेगावाट ऊर्जा खपत गर्दै आएको छ । आगामी सन् २०२० सम्ममा उसको ऊर्जाको आवश्यकता बढेर १५÷२० हजार मेगावाटसम्म पुग्दैछ भने उसको प्राकृतिक ग्यासको भण्डार रित्तिंदै गएकाले बंगलादेशले जलविद्युत्को अपार सम्भावना भएको छिमेकी मुलुक नेपालबाट बिजुली खरिद गर्ने प्रस्ताव गरेको हो ।
‘बंगलादेशले नेपालमा सरकार, यहा“का स्वदेशी तथा विदेशी लगानीकर्ताले विकास गर्ने जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् डलरमा खरिद गर्न प्रस्ताव गरेको छ’ बंगालदेशी विद्युत सचिव इस्लाम र ऊर्जा मन्त्रालयका अधिकारीबीचको वार्तामा सहभागी एक अधिकारीले भने( ‘बंगलादेश आफ्नो सरकार या बंगलादेशी निजी क्षेत्रले जलविद्युत् आयोजनामा नेपाली या विदेशी साझेदारसित मिलेर संयुक्त लगानी गरी आयोजना निर्माण गरेर बिजुली खरिद गरेर लैजानसमेत तयार छ ।’
नेपालबाट बंगलादेशको सीमा जम्माजम्मी ३० किलोमिटर टाढाको दुरीमा पर्छ । नेपालबाट बंगलादेशमा बिजुली निर्यात गर्न भारतसम्म ४÷५ हजार मेगावाटसम्म बिजुली पठाउन सकिने ठूलो क्षमताको प्रसारण लाइन बनाएर भारतीय प्रसारण लाइनसम्म जोडे पुग्छ, नेपालबाट निर्यात हुने बिजुली बंगलादेशले भारतीय प्रसारण लाइनबाटै आफ्नो देशमा लान सक्ने ऊर्जाका अधिकारी बताउ“छन् ।
बंगलादेशले ठूलो परिमाणमा डलरमा बिजुली खरिद गर्ने प्रस्ताव गरेका कारण नेपालको जलविद्युत् क्षेत्रमा विदेशी लगानीकर्ता आकर्षित हुने र स्वदेशी लगानीकर्ताले समेत डलरमा ऋण लिएरै भए पनि आयोजना निर्माण गर्न सक्ने वातावरण बनाउने विश्वास ऊर्जा क्षेत्रका विज्ञहरू बताउ“छन् । बंगलादेशी प्रस्तावले जलविद्युत् क्षेत्रको विकासमा महत्वपूर्ण योगदान पुग्ने विश्वासमेत ती विज्ञको छ ।
नेपालमा जलविद्युत् क्षेत्रमा लगानी गर्न युरोपियन, भारतीय र ब्राजिलका विभिन्न कम्पनीले दर्जनबढी आयोजनाको अध्ययन गरिरहका छन् । तर, ती कम्पनीहरू भारत नेपालबाट कमर्सियल दरमा बिजुली खरिद गर्न इच्छुक नदेखिएको र उससित नेपालको विद्युत् खरिद सम्झौतासमेत नभएकाले लगानी गर्न उत्साहित देखिएका थिएनन् । बंगालदेशको प्रस्तावपछि ती कम्पनीहरूले बंगलादेशी बजार पाउने भएकाले आयोजना निर्माण कार्य अघि बढाउने वातावरण बन्ने ऊर्जा मन्त्रालयका अधिकारी बताउ“छन् ।
अमेरिकी डलरको तुलनामा नेपाली मुद्राको अवमूल्यन भइरहेकाले विद्युत् प्राधिकरण डलरमा विद्युत् खरिद सम्झौता गर्न तयार नभएका कारण जलविद्युत् क्षेत्रमा विदेशी लगानीकर्ता आकर्षित हुन सकेका थिएनन् ।
नेपाल भ्रमणका क्रममा बंगालदेशी सचिव इस्लामले निर्यातको उद्धेश्यले भारतीय कम्पनीले निर्माण गर्न लागेका ठूला आयोजनाको समेत निरीक्षण भ्रमण गरेका थिए । उनले जीएमआरले निर्माण गर्नका लागि अध्ययन गरिरहेको ६ सय मेगावाटको माथिल्लो मस्र्याङ्दी आयोजनाको स्थलगत भ्रमण गरे ।
इस्लामले स्वदेश फर्किएपछि शुक्रबारै नेपाली समकक्षी ऊर्जा सचिव पण्डितलाई इमेल लेखी नेपालबाट डलरमा विद्युत् खरिद गर्ने तथा मिलेर जलविद्युत् लगानी गर्ने लिखित प्रस्तावसमेत राखेको जानकारी ऊर्जा मन्त्रालयका अधिकारीले दिए । ऊर्जा मन्त्रालयका अधिकारीले बंगलादेश र भारतको प्रस्तावले आफूहरू उत्साहित भएको र त्यसले नेपालमा जलविद्युत् क्षेत्रमा लगानी आकर्षित हुने विश्वास व्यक्त गरे ।
यसैबीच भारतीय विद्युत् मन्त्रालयका सचिव प्रदीपकुमार सिन्हाले बुधबार ऊर्जामन्त्री ज्ञवाली र सचिव पण्डितलाई भेटी भारतीय विद्युत् मन्त्रालय र नेपालको ऊर्जा मन्त्रालयबीच प्रत्यक्ष वार्ता अघि बढाउन सचिवस्तरको संयुक्त स्टेयरियङ कमिटी र मातहतमा सहसचिवस्तरीय प्राविधिक समिति गठन गर्ने प्रस्ताव गरेका छन् । जलस्रोत सचिवस्तरीय नेपाल(भारत संयुक्त समितिमार्फत् ऊर्जामा सहकार्य अघि बढाउन झन्झटिलो र प्राविधिक रूपमा समस्या परेकाले उनले सोझै दुई देशका ऊर्जा मन्त्रालयका सचिव र सहसचिवस्तरको संयुक्त समिति बनाउन प्रस्ताव गरेको जानकारी स्रोतले दिए । भारत र बंगालदेशबीच दुई देशका ऊर्जामन्त्रालयबीच यस्तो समिति क्रियाशील छन् ।
सिन्हाले धेरै लामो समयदेखि अड्किएको नेपाल(भारत विद्युत् व्यापार सम्झौता गर्ने प्रक्रियालाई अघि बढाउनसमेत आफ्नो देश तयार रहेको जानकारी गराएका थिए । नेपालले विद्युत् व्यापार सम्झौताको मस्यौदा भारतसमक्ष प्रस्ताव गरिसकेको छ । भारतले यसअघि मस्यौदा अध्ययन गरिरहेको भन्दै अड्काइरहेको थियो । सिन्हाले मस्यौदालाई छिटो अन्तिम रूप दिई सम्झौता गर्नका लागि स्टेयरिङ कमिटीमार्फत् छिट्टै छलफल अघि बढाउने प्रस्तावसमेत गरेका छन् ।
भारतसित विद्युत् व्यापार सम्झौता भएपछि नेपालको जलविद्युत्को क्षेत्रमा विदेशी लगानी बढ्ने विश्वास ऊर्जाका अधिकारीको छ । सिन्हाले भेटवार्ताका क्रममा नेपाल(भारतबीच निर्माणाधीन ढल्केबर–मुजफ्फपुर र प्रस्तावित रूपन्देही–गोरखपुर अन्तरदेशीय प्रसारण लाइन छिटो निर्माण गर्नका लागि आफ्नो सरकार सहयोग र सहकार्य गर्न प्रतिबद्ध रहेको जानकारीसमेत गराएका थिए ।

No comments:

Post a Comment