Thursday, March 27, 2014

संवैधानिक परिषद बैठक स्थगित

काठमाडौं, १३ चैत– विपक्षी दलका नेता (एकीकृत माओवादीका अध्यक्ष) पुष्पकमल दाहाललाई पुत्री शोक परेकाले बिहीबार निर्धारित संवैधानिक परिषदको बैठक स्थगित भएको छ । प्रधानमन्त्री एवं परिषदका अध्यक्ष सुशील कोइरालाले प्रधानन्याधीश नियुक्तिको सिफारिस गर्न बिहीबार अपराह्न परिषदको बैठक बोलाएका थिए ।
प्रधानमन्त्रीले परिषदका सदस्य एवं विपक्षी दलका नेता दाहाललाई पुत्री शोक परेकाले बिहीबारको बैठक स्थगित गरेको जानकारी सभामुख सुवास नेम्वाङले दिए । दाहालकी लामो समयदेखि क्यान्सरबाट पीडित छोरी ज्ञानुको बिहीबार ओम अस्पतालमा निधन भएको छ ।
परिषदको बैठक आइतबार बस्ने सम्भावना छ । प्रधानमन्त्री कोइरालाले बैठकको मिति भने तय गरिसकेका छैनन् । कोइरालाले दाहालसित छलफल गरी बैठक आइतबारका लागि बोलाउने जानकारी प्रधानमन्त्री कार्यालय स्रोतले दिएको छ ।
कोइराला प्रधानमन्त्री भएपछि बस्न लागेको परिषद पहिलो बैठकबाट प्रधानन्यायाधीश सिफारिस गर्ने र त्यसपछि मानव अधिकार आयोग, अख्तियार र लोकसेवा आयोगमा रिक्त पदाधिकारी नियुक्तिको निर्णय गर्ने तयारीमा थियो ।

No comments:

Post a Comment