Friday, March 7, 2014

बेलायती राजदूतद्वारा कोइरालासित भेटवार्ता

काठमाडौं, २३ फागुन– नेपालका लागि बेलायतका राजदूत एन्ड्रयू जेम्स स्पार्कले शुक्रबार अपराह्न प्रधानमन्त्री सुशील कोइरालासित भेटवार्ता गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा कोइराला र स्पार्कबीच दुवै मुुलुकका आपसी हितका विषयमा छलफल भएको छ ।
राजदूत स्पार्कले कोइराला नेतृत्वको सरकार संविधानसभाबाट एक वर्षभित्रमा संविधान निर्माण गरी जारी गर्न सफल हुने विश्वास व्यक्त गरेको जानकारी कोइरालाका प्रेस संयोजक प्रकाश अधिकारीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
विज्ञप्तिका अनुसार स्पार्कले स्थानीय निकायको निर्वाचन गराउने सरकारको प्रतिबद्धताको समेत सराहना गरेका थिए । भेटवार्ताका क्रममा राजदूत स्पार्कले बेलायती प्रधानमन्त्री डेभिड क्यामरुनले कोइरालालाई पठाएको बधाई तथा शुभकामना सन्देशसमेत हस्तान्तरण गरेका थिए ।
क्यामरुनले कोइरालालाई नेपालको शान्ति प्रक्रियालाई पूर्ण गर्न र एक वर्षभित्र नया“ संविधान प्रदान गर्न सफलता मिलोस् भनी शुभकामना दिएका छन् । प्रधानमन्त्री कोइरालाले नेपालको आर्थिक र सामाजिक विकासमा बेलायतले निरन्तर दिएको सहयोगको प्रशंसा गर्दै भविष्यमा पनि यस्तो सहयोग जारी रहने विश्वास व्यक्त गरेका थिए ।

No comments:

Post a Comment