Wednesday, September 17, 2014

बेपत्ता तथा मेलमिलाप आयोगको पदाधिकारी छनौट प्रक्रिया तय

तिहारअगावै पदाधिकारी सिफारिस गरिने
काठमाडौं, १ असोज– सशस्त्र द्वन्द्वकालमा बेपत्ता व्यक्तिको छानबिन तथा सत्य निरुपण र मेलमिलाप आयोगका पदाधिकारी सिफारिस गर्न गठिन समितिले तिहारअगावै पदाधिकारी सिफारिस गर्ने भएको छ । समितिले शान्ति तथा पुनर्निर्माण मन्त्रालयमा बुधबार पत्रकार सम्मेलन गरी पदाधिकारी छनौट प्रक्रिया सार्वजनिक गरी तिहारअगावै सिफारिस गर्ने प्रतिबद्धता व्यक्त गरेको हो ।
पत्रकार सम्मेलनमा समितिका अध्यक्ष एवं पूर्वप्रधानन्यायाधीश ओमभक्त श्रेष्ठले बेपत्ता पारिएका व्यक्तिको छानबिन तथा सत्य निरुपण र मेलमिलाप आयोगको अध्यक्ष र सदस्यको सिफारिस गर्न कानुनबमोजिम तयार पारिएको छनौट प्रक्रिया सार्वजनिक गरेका थिए । उनका अनुसार छनौट प्रक्रियामा समितिले योग्यता र अनुभव पुगेका इच्छुक व्यक्तिहरूलाई आयोगका अध्यक्ष र सदस्यहरू हुन आवश्यक कागजातसहित आवेदन दिन सार्वजनिक सूचना आह्वान गर्ने व्यवस्था गरिएको छ ।
समितिले आयोगको अध्यक्ष तथा सदस्यहरूको सूची तयार गर्ने कामलाई पहिलो चरणमा राखेको छ । अध्यक्ष श्रेष्ठका अनुसार आयोगको अध्यक्ष वा सदस्य पदमा नियुक्तिको लागि सिफारिस गर्न ऐनको दफा ४ बमोजिम योग्यता पुगेका तथा दफा ५ बमोजिम अयोग्य नभएका व्यक्तिहरूमध्येबाट सम्भावित उम्मेदवारको सूची तयार गरिनेछ । 

१० दिनको सार्वजनिक सूचना गरिसकेपछि आयोगको अध्यक्ष वा सदस्य हुन इच्छुक व्यक्तिहरूले आवश्यक कागजातसहित समितिमा बुझाउनुपर्नेछ । त्यसलगत्तै समितिले आयोगको अध्यक्ष र सदस्यको सम्भाव्य उम्मेदवार सूचीकृत गर्नेछ । आयोगका अध्यक्ष र सदस्य हुन कागजात पेश नगरेका, तर योग्यता र अनुभव व्यक्तिलाई समिति आफैंले सिफारिस गर्न सक्ने व्यवस्थासमेत छनौट प्रक्रियामा राखिएको छ ।
उक्त छनोट प्रक्रियामा रहेका व्यवस्था पूरा गरिसकेपछि समितिले नियुक्तिका लागि सरकारसमक्ष सिफारिस गर्नेछ । समितिले आयोगको अध्यक्ष तथा सदस्य पदमा नियुक्तिका लागि सिफारिस गर्नुअघि आवश्यकता अनुसार सम्बद्ध क्षेत्रका विज्ञ, पीडित समुदाय, अन्तर्राष्ट्रिय समुदाय, मानव अधिकारकर्मी र नागरिक समाजका प्रतिनिधिस“ग आवश्यक परामर्श र अन्तरक्र्रियासमेत गर्ने जानकारी समितिका पदाधिकारीले दिए ।

 

No comments:

Post a Comment