Monday, September 29, 2014

स्वदेशी निजी क्षेत्रको लगानीमा दोस्रो ठूलो विद्युत् आयोजना बन्ने


  • २३.५ मेगावाटको अप्पर सोलुका लागि नौ बैंकले ३ अर्ब र प्रवद्र्धकले १ अर्बभन्दा बढी लगानी गर्ने
  • आयोजनाबाट २०१८ जुलाईदेखि विद्युत् उत्पादन सुरु हुने 

काठमाडौं, १३ असोज– अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी प्रालिले २३.५ मेगावाटको सोलु जलविद्युत् आयोजना निर्माणका लागि आवश्यक लगानी (वित्तीय स्रोत) जुटाएको छ । सोलुखुम्बु जिल्लाको सोलु नदीमा निर्माण हुने ४ अर्ब १० करोड रुपैया“ लागत लाग्ने उक्त आयोजनाका लागि लक्ष्मी बैंकको नेतृत्वमा ९ वटा बैंक तथा वित्तीय संस्थाले सहवित्तीकरणमा ३ अर्ब ५ करोड रुपैया“भन्दा बढी कर्जा (ऋण) लगानी गर्ने भएपछि वित्तीय स्रोत –लगानी) जुटेको हो ।
प्रवद्र्धक कम्पनी अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी प्रालिले २५ प्रतिशत अर्थात् एक अर्ब रुपैया“भन्दा बढी इक्विटी स्वपू“जी लगानी जुटाएको छ भने नौ बैंक तथा वित्तीय संस्थाले आयोजनामा कुल लागतको ७५ प्रतिशत ऋण लगानी गर्नेछन् । अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी प्रालिमा आईसीटीसी ग्रुपको ८० र ब्लू इनर्जी लिमिटेडको २० प्रतिशत लगानी रहेको छ ।

सोलु जलविद्युत् आयोजना निर्माणाधीन ४२ मेगावाटको मिस्त्री खोलापछि मुलुकमा स्वदेशी प्रवद्र्धक र बैंकको लगानीमा बन्ने ठूलो आयोजना हुनेछ । सन् २०१५ को जनवरीमा निर्माण सुरु भई सन् २०१८ को जुलाईबाट विद्युत् उत्पादन सुरु भइसक्ने जानकारी प्रवद्र्धक कम्पनीका अधिकारीले दिएका छन् । भारतीय सहुलियतपूर्ण ऋण सहयोगमा कोसी कोरिडोरमा प्रसारण लाइन निर्माण कार्य सुरु हुन लागेकाले उक्त आयोजनाबाट उत्पादित बिजुली राष्ट्रिय ग्रिडमा जोड्न समस्या पर्ने छैन ।
राजधानीमा आइतबार अपराह्न आयोजित कार्यक्रममा प्रवद्र्धक कम्पनी अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी र नौवटा बैंक तथा वित्तीय संस्थाबीच लगानीसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ । सम्झौतापत्रमा अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी प्रालि तथा आईसीटीसी ग्रुपका प्रबन्ध निर्देशक प्रवीण श्रेष्ठ र बैंकका प्रतिनिधिले हस्ताक्षर गरेका छन् ।
सोलु जलविद्युत् आयोजनामा लक्ष्मी बैंकले ५० करोड, नेपाल इन्भेस्टमेन्ट बैंकले ५० करोड, एनएमबी बैंकले ५० करोड, एभ्रेस्ट बैंकले ४० करोड, एआईसी एसिया बैंकले ३४ करोड १२ लाख ५० हजार, ग्लोबल आईएमई बैंकले १९ करोड ५० लाख, लुम्बिनी बैंकले १९ करोड ५० लाख, सेन्चुरी कमर्सियल बैंकले २४ करोड ३७ लाख ५० हजार र जलविद्युत् लगानी तथा विकास कम्पनी लिमिटेडले २० करोड रुपैया“ ऋण लगानी गर्नेछन् ।
अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनीले आयोजना विकासका काम अघि बढाइसकेको छ । आयोजनाका साइटमा आधारभूत संरचना निर्माणाधीन छन् । सन् २०१५ को जनवरीदेखि नै आयोजनाको मुख्य संरचना निर्माण कार्य थालिने जानकारी प्रवद्र्धक कम्पनीका अधिकारीले दिए । आयोजना बन्न सुरु भएको तीन वर्षभित्रै निर्माण सम्पन्न गरी सन्  २०१८ को जुलाईमा विद्युत् उत्पादन सुरु गरिसक्ने लक्ष्य प्रवद्र्धक कम्पनीको छ । उक्त आयोजनाबाट वर्षको १३२.५२ गिगावाट आवर विद्युत् उत्पादन हुनेछ ।
सन् २०१० मा सरकारले ८ वटा जलविद्युत् आयोजना प्रतिस्पर्धाबाट निर्माण गर्न प्रस्ताव आह्वान गरेको थियो । ८ मध्ये ६ आयोजना निर्माणका लागि विभिन्न स्वदेशी तथा विदेशी लगानीकर्ताले प्रस्ताव पेस गरेका थिए । सरकारले निजी क्षेत्रबाट परेका प्रस्तावहरूको मूल्यांकनपछि बढी राजस्व तिरेकामध्येबाट अप्पर सोलुसहित ६ वटा आयोजनाका प्रवद्र्धकको छनौट गरेको हो । खुल्ला प्रतिस्पर्धाबाट छानिएका यी छ आयोजना ‘सुपरसिक्स’ का नामले समेत परिचितसमेत छन् । सुपरसिक्स आयोजनामध्ये अप्पर सोलु निर्माणका लागि लगानी जुटाउने पहिलो आयोजना बनेको छ । बा“की पा“च आयोजना लगानी जुटाउने क्रममा छन् ।
अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनीले सन् २०१० मा अप्पर सोलुको सर्वेक्षण अनुमतिपत्र पाएको हो । सन् २०१३ को नोभेम्बर १० मा नै कम्पनीले विद्युत् प्राधिकरणस“ग अप्पर सोलुको विद्युत् खरिद बिक्री सम्झौता (पीपीए) गरिसकेको छ । कम्पनीले ऊर्जा मन्त्रालयबाट सन् २०१४ को मार्च २७ मा विद्युत् उत्पादन अनुमतिपत्र (लाइसेन्स) पाएको थियो ।



No comments:

Post a Comment