Thursday, September 15, 2016

प्राधिकरणको कार्यकारी निर्देशकमा घिसिङ नियुक्त

काठमाडौं ३० भदौ– सरकारले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई नियुक्त गरेको छ । ऊर्जा मन्त्री जनार्दन शर्माको प्रस्तावमा मन्त्रिपरिषदको बुधबार बसेको बैठकले घिसिङलाई चार वर्षका लागि नियुक्त गरेको हो ।

११ औं तहका अधिकृत घिसिङ उत्पादन विभागमा कार्यरत थिए । त्यसअघि उनी राहुघाट जलविद्युत आयोजना प्रमुख र चिलिमे जलविद्युत कम्पनीका प्रबन्ध सञ्चालकसमेत थिए । यसअघिका कार्यकारी निर्देशक मुकेशराज काफ्लेले दिएको राजिनामा स्वीकृत गरी सरकारले घिसिङलाई उक्त पदमा नियुक्त गरेको हो ।

सरकारले प्राधिकरणमा तीन कार्यकालदेखि खुल्ला प्रतिस्पर्धाबाट कार्यकारी निर्देशक नियुक्त गर्ने परम्परालाई यसपटकदेखि अन्त्य गरेको छ । खुल्ला प्रतिस्पर्धाबाट यसअघि दीपेन्द्रनाथ शर्मा, उत्तरकुमार श्रेष्ठ र रामेश्वर यादव कार्यकारी निर्देशक नियुक्त भएका थिए । अख्तियारले भ्रष्टाचारको अभियोगमा यादवविरुद्ध मुद्दा दायर गरेपछि सरकारले उनलाई पदमुक्त गरी खुल्ला प्रतिस्पर्धाबाट दोस्रो वरियतामा छानिएका काफ्लेलाई कार्यकारी निर्देशक गरेको हो ।

No comments:

Post a Comment