Friday, September 2, 2016

८ सचिवको सरुवा, दुई सहसचिवको सचिवमा बढुवा


गृहमा रेग्मी र अर्थमा सुवेदीलाई सचिवको जिम्मेवारी
काठमाडौ, १७ भदौ– सरकारले विभिन्न महत्वपूर्ण मन्त्रालय तथा निकायका ८ सचिवलाई सरुवा गर्नुका साथै दुई जना सहसचिवलाई विशिष्ट श्रेणीमा बढुवा गरेको छ । मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले अर्थसचिव लोकदर्शन रेग्मीलाई गृह मन्त्रालयमा सरुवा गरेको छ । गृह मन्त्रालयका सचिव नारायणगोपाल मलेगोलाई उपराष्ट्रपति कार्यालयमा सरुवा गरिएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव शान्तराज सुवेदीलाई अर्थमन्त्रालयमा सरुवा गरिएको छ । तत्कालीन अर्थमन्त्री वर्षमान पुनका पालामा समेत सुवेदी अर्थसचिव थिए । उपराष्ट्रपति कार्यालयका सचिव राजेन्द्रकिशोर क्षेत्रीलाई अख्तियारमा सरुवा गरिएको छ ।

स्थानीय विकास मन्त्रालयका सचिव महेन्द्र गुरुङ र सामान्य प्रशासन मन्त्रालयका सचिव टंकमणि शर्मालाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा सरुवा गरिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव केदारबहादुर अधिकारीलाई स्थानीय विकास मन्त्रालयका सरुवा गरिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयकै अर्का सचिव शान्तबहादुर श्रेष्ठलाई शिक्षा मन्त्रालयमा सरुवा गरिएको छ ।
मन्त्रिपरिषदले सहसचिवद्वय लोकप्रसाद आचार्य र पूर्णचन्द्र भट्टराईलाई सचिवमा बढुवा गरेको छ । सरकारले सबभन्दा वरिष्ठबाट बढुवा हुने एक सचिव पदमा सहसचिव आचार्यलाई बढुवा गरेको हो । बढुवा समितिले कार्यसम्पादन र योग्यताक्रमअनुसार सिफारिस गरेका तीन सहसचिवमध्येबाट सरकारले भट्टराईलाई सचिवमा पदोन्नति गरेको हो । बढुवा समितिले विनोद केसी, कृष्ण देवकोटा र पूर्णचन्द्र भट्टराईलाई सचिव पदोन्नति गर्न सिफारिस गरेको थियो । वरिष्ठलाई छाडी सरकारले तेस्रो वरियताका भट्टराईलाई बढुवा गरेको हो ।
मन्त्रिपरिषदले आचार्यलाई क्षेत्रीय प्रशासन कार्यालय डोटीको क्षेत्रीय प्रशासक र भट्टराईलाई सामान्य प्रशासन मन्त्रालयको सचिवमा पदस्थापन गरेको छ । भट्टराई बढुवा हुनासाथ मन्त्रालय पाउने सौभाग्यशाली सचिव भएका छन् ।
दुई सल्लाहकार नियुक्त
मन्त्रिपरिषदले प्रधानमन्त्री पुष्पकमल दाहालको आर्थिक सल्लाहकारमा अर्थविद डा. श्रीराम पौडेल र परराष्ट्र मामिला सल्लाहकारमा डा ऋषिराज अधिकारीलाई नियुक्त गरेको छ । पौडेल त्रिभुवन विश्वविद्यालयमा अर्थशास्त्रमा प्राध्यापक हुन् भने अधिकारी मलेसियाका लागि नेपालका पूर्व राजदूत तथा परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानका पूर्व प्रमुख हुन् ।
योजना आयोगमा उपाध्यक्ष नियुक्त
सरकारले राष्ट्रबैंकका कार्यकारी निर्देशक मीनबहादुर श्रेष्ठलाई योजना आयोगको उपाध्यक्षमा नियुक्त गरेको छ । उनी बैंकमा राष्ट्र ऋण विभाग प्रमुख थिए । तत्कालीन प्रधानमन्त्री केपी ओली सरकारको पालाका आयोगका उपाध्यक्ष युवराज खतिवडाले राजिनामा दिएपछि रिक्त पदमा श्रेष्ठलाई ल्याइएको हो । प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको रोजाइमा श्रेष्ठले आयोगको जिम्मेवारी पाएका हुन् । 
विधेयक तर्जुमा गर्न स्वीकृति
मन्त्रिपरिषदले प्रतिनिधिसभा, प्रदेशसभा र राष्ट्रियसभाको निर्वाचनसम्बन्धी विधेयक तर्जुमाका लागि निर्वाचन आयोगलाई सैद्धान्तिक स्वीकृति प्रदान गरेको छ । 




No comments:

Post a Comment