Wednesday, September 28, 2016

प्रभावशाली मन्त्रीहरूको स्वार्थमा ४४ सहसचिवको सरुवा

काठमाडौं, १२ असोज– अनुभव र कार्यदक्षताका आधारमा भन्दा प्रभावशाली मन्त्रीहरूको स्वार्थमा सरकारले विभिन्न मन्त्रालय र निकायका ४४ सहसचिवको सरुवा गरेको छ । प्रभावशाली मन्त्रीहरूले पछिल्लो मन्त्रिपरिषदबाट निर्णय गराई पार्टी निकट र आफ्नो स्वार्थमा काम गर्ने सहसचिवहरूलाई महत्वपूर्ण मन्त्रालयमा ल्याएका छन् भने आफ्नो स्वार्थमा काम गर्न नमान्ने सहसचिवहरूलाई खासै काम नहुने निकायमा सरुवा गरिदिएका छन् । अनुभव र दक्षताका आधारमा सरुवा पाएका सहसचिव अपवादमात्र रहेको जानकारी प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय स्रोतले दिएको छ ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री भएको दुई महिना पनि नपुग्दै मन्त्रीहरूको स्वार्थमा सबैजसो मन्त्रालय र निकायका सचिवहरूको सरुवा गरिसकेको सरकारले दोस्रो चरणमा ठूलो मात्रामा सहसचिवहरू चलाएको हो । सामान्य प्रशासन मन्त्रालय स्रोतका अनुसार अर्थमन्त्रालयबाट हरिशरण पुडासैनीलाई सार्वजनिक खरिद अनुगमन कार्यालयमा र उत्तमनारायण भट्टराईलाई पर्यटन मन्त्रालयमा सारिएको छ ।

उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराको प्रस्तावमा योजना आयोगका मधु मरासिनी, सामान्य प्रशासनको अतिरिक्त समूहका बलराम रिजाल, अख्तियारका गजेन्द्रकुमार ठाकुर, जीवन प्रकाश सिटौला र रामकृष्ण सुवेदीलाई अर्थमन्त्रालयमा ल्याइएको छ । अर्का उपप्रधान तथा गृहमन्त्रीको प्रस्तावमा प्रधानमन्त्री कार्यालयका उत्तरकुमार खत्री, नारायण दवाडी, सूचना तथा सञ्चारका द्रोण पोखरेल, रक्षाका शिवप्रसाद सिम्खडा, शान्ति तथा पुनर्निर्माणका शंकर खरेललाई गृह मन्त्रालयमा ल्याइएको छ । गृह मन्त्रालयका चक्रबहादुर बुढालाई स्थानीय विकासमा पठाइएको छ ।
योजना आयोगका जयनारायण आचार्यलाई पर्यटनमा, अख्तियारका शंकर थापालाई भूमिसुधारमा, शान्ति तथा पुनर्निर्माणका राधाकृष्ण प्रधानलाई सत्यनिरुपण तथा मेलमिलाप आयोगमा, राष्ट्रपति कार्यालयका कृष्ण पौडेललाई उपराष्ट्रपति कार्यालयमा, सामान्य प्रशासनका ईश्वर पौडेललाई अख्तियारमा, सार्वजनिक खरिद अनुगमन कार्यालयका मुकुन्द निरौलालाई सामान्य प्रशासनमा, शान्ति तथा पुनर्निर्माणका जीवराज कोइरालालाई अख्तियारमा सारिएको छ ।
प्रधानमन्त्री कार्यालयका विनोद कु“वरलाई लोकसेवा आयोगमा, सतर्कता केन्द्रका दामोदर रेग्मीलाई प्रधानमन्त्री कार्यालयमा, सूचना तथा सञ्चारका नवराज ढकाललाई निर्वाचन आयोगमा, अख्तियारका किशोरजंग कार्कीलाई सूचना तथा सञ्चारमा, अख्तियारका डिल्लीराम शर्मालाई प्रधानमन्त्री कार्यालयमा, आपूर्तिका आनन्दराम रेग्मीलाई रक्षामा, सामान्य प्रशासनको अतिरिक्त समूहका विश्वराज पाण्डेलाई श्रम तथा रोजगार मन्त्रालयमा, महिला मन्त्रालयका रामप्रसाद भट्टराईलाई महिला आयोगमा सरुवा गरिएको छ ।
आपूर्ति मन्त्रालयका उत्तम नागिलालाई स्थानीय विकासमा, सार्वजनिक खरिद अनुगमन कार्यालयका नरेशकुमार चापागाईंलाई महिला मन्त्रालयमा, शान्ति तथा पुनर्निर्माणका सञ्जयकुमार खनाललाई योजना आयोगमा, श्रम तथा रोजगार मन्त्रालयका सूर्यप्रसाद श्रेष्ठलाई आपूर्ति मन्त्रालयमा, पर्यटन मन्त्रालयका सुदर्शन ढकाललाई शान्ति तथा पुनर्निर्माणमा, रक्षाका कुलप्रसाद चुडाललाई राष्ट्रपति कार्यालयमा, भूमिसुधारका कपिल डंगोललाई ऊर्जा मन्त्रालयमा र सिंचाइ मन्त्रालयका माधव बेल्वासेलाई जल तथा ऊर्जा आयोगमा सारिएको छ ।

No comments:

Post a Comment