Thursday, March 29, 2018

प्रधानन्यायाधीशमा तीन जनाको नाम प्रस्ताव

दीपकराज जोशी, ओमप्रकाश मिश्र र चोलेन्द्रशमशेर राणाको नाम संवैधानिक परिषद्समक्ष प्रस्ताव
काठमाडौं, १३ चैत– न्यायपरिषद्ले रिक्त प्रधानन्यायाधीश नियुक्तिका लागि सर्वोच्च अदालतका वरिष्ठ तीन न्यायाधीश दीपकराज जोशी, ओमप्रकाश मिश्र र चोलेन्द्रशमशेर राणाको नाम संवैधानिक परिषद्समक्ष प्रस्ताव गरेको छ । कार्यवाहक प्रधानन्यायाधीश जोशीको अध्यक्षतामा मंगलबार बसेको बैठकले सर्वोच्चमा तीन वर्ष काम गरिसकेका तीन वरिष्ठ न्यायाधीशको नाम अभिलेखसहित वरिष्ठताक्रमअनुसार प्रस्ताव गरेको हो । 
सर्वोच्चमा तीन वर्ष काम गरिसकेका न्यायाधीश मात्र प्रधानन्यायाधीश नियुक्त हुन योग्य मानिने कानुनी व्यवस्था छ ।

प्रधानमन्त्रीको अध्यक्षतामा बस्ने संवैधानिक परिषदको बैठकले प्रधानन्यायाधीश नियुक्त गर्न सिफारिस गर्ने संवैधानिक व्यवस्था छ । सिफारिसमा परेका न्यायाधीश संसदीय सुनुवाइबाट अनुमोदन भएपछि राष्ट्रपतिबाट प्रधानन्यायाधीश नियुक्त हुनेछन् । 
जन्ममिति विवादमा तानिएका प्रधानन्यायाधीश गोपाल पराजुलीले उमेरहदका कारण गत साउन २१ देखि नै लागू हुने गरी अवकाश पाएपछि न्यायालयको सर्वोच्च पद रिक्त छ । न्यायपरिषदका सचिव नृपध्वज निरौलाले गत फागुन ३० मा पराजुलीले उमेरहदले साउन २१ देखि नै लागू हुने गरी अवकाश पाइसकेको पत्र बुझाएका थिए । पराजुलीले अवकाश पाएपछि वरिष्ठतम न्यायाधीश जोशी कार्यवाहक जिम्मेवारीमा छन् । संवैधानिक परिषद्ले वरिष्ठतम न्यायाधीशलाई नै प्रधानन्यायाधीशमा सिफारिस गर्ने परम्परा छ ।

No comments:

Post a Comment