Saturday, March 31, 2018

कांग्रेसद्वारा माघ १६ र फागुन ७ को बिदा कटौतीको विरोध

काठमाडौं, १६ चैत– प्रमुख प्रतिपक्षी कांग्र्रेसले माघ १६ को सहिद दिवस र फागुन ७ को प्रजातन्त्र दिवसको अवसरमा दिदै आएको सार्वजनिक बिदा कटौती गरिएकोप्रति आपत्ति जनाएको छ । बाम गठबन्धन सरकारले कांग्रेस नेतृत्वमा भएको ०७ सालको क्रान्तिलाई विस्मृतिमा लैजान प्रजातन्त्र दिवस र सहिद दिवसको बिदा कटौती गरेको आरोपसमेत कांग्रेसले लगाएको छ ।
प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै कांग्रेस नेता दिलेन्द्र बडुले ०७ सालको क्रान्ति र त्यसको पृष्ठभूमिको आन्दोलनको इतिहासको सम्मानका लागि पनि सहिद दिवस र प्रजातन्त्र दिवसको बिदा खारेज गर्न नहुने बताए । 

उनले प्रजातन्त्र र सहिद दिवस खारेज गरेर बाम गठबन्धन सरकारले लोकतन्त्रमाथि सुनियोजित रूपमा आक्रमण गरेको आरोपसमेत लगाए । ‘प्रजातन्त्र दिवस र सहिद दिवसको बिदा कटौती गर्नु आपत्तिजनक छ । यो लोकतन्त्रमाथिको आक्रमण हो । सरकारले तत्काल यो निर्णय फिर्ता लिनुपर्छ’ उनको भनाइ थियो । मन्त्रिपरिषद बैठकले प्रजातन्त्र दिवस र सहिद दिवससहित १२ दिन सार्वजनिक कटौती गरेको थियो ।

No comments:

Post a Comment