Monday, March 12, 2018

कैलाली घटनामा प्रधानमन्त्रीद्वारा दोषीलाई कारबाही गर्न निर्देशन

काठमाडौं, २७ फागुन– प्रधानमन्त्री केपी ओलीले कैलालीको घोडाघोडी नगरपालिका–५ की राधा चौधरीमाथि बोक्सी आरोपमा निर्घात कुटपिट गरिएको घटना छानबिन गरी दोषीमाथि कारबाही गर्न जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएका छन् । ओलीले सामाजिक सञ्जाल फेसबुक र टिवटरमा आइतबार कैलाली घटनाबारे लेख्दै राधाको सम्पूर्ण उपचार खर्च सरकारले व्यहोर्ने र घटनाको छानबिन गरी दोषीमाथि कारबाही गरिने जनाएका छन् ।
‘कैलालीमा राधा चौधरीमाथि भएको कुटपिटमा संलग्नलाई कारबाही गर्न निर्देशन दिइसकिएको छ । यस्तो जघन्य अपराधमा संलग्न जोकसैलाई पनि उन्मुक्ति हुन सक्दैन र दिइने छैन । राधाको सम्पूर्ण उपचार खर्च सरकारले व्यहोर्ने छ । घटनाको छानबिन गरी दोषीमाथि कारबाही गर्नेछ,’ ओलीले आफ्नो फेसबुक र टिवटरमा लेखेका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले समेत चौधरीमाथि भएको कुटपिट र अभियुक्तलाई प्रहरी हिरासतबाट छुटाइएको विषयमा तत्काल छानबिन गरी दोषीमाथि कारबाही गर्न जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिइसकिएको जनाएको छ ।
‘नेपाललगायत विश्वले अन्तर्राष्ट्रिय महिला दिवस मनाइरहेको दिन नै भएको यस्तो गम्भीर घटनाले अन्धविश्वास र कुरीतिको जरा समाजको तल्लो तहमा फैलिएको प्रस्ट भएको छ । यस घटनाले आधुनिक मानवीय चेतना र सभ्यतालाई नै अपमान गरेको छ र देशकै बेइज्जत गरेको छ । यस्ता आपराधिक घटना भविष्यमा दोहोरिन नदिन जनतामा रहेको अशिक्षा, अन्धविश्वास र पछौटेपनजस्ता कुरालाई दुरुपयोग गर्दै लाभान्वित हुन खोज्ने गतिविधिलाई कठोरताका साथ रोक्न जरुरी छ,’ प्रधानमन्त्रीका प्रेस सहयोगी रामशरण बजगाईंद्वारा जारी विज्ञप्तिमा छ ।

No comments:

Post a Comment