Monday, July 23, 2018

प्रधानन्यायाधीशको सुनुवाइ साउन १० मा

जोशीविरुद्ध ५ वटा उजुरी
काठमाडौं, ७ साउन– संघीय संसदको संसदीय सुनुवाइ विशेष समितिले प्रधानन्यायाधीशमा सिफारिस कायममुकायम प्रधानन्यायाधीश दीपकराज जोशीमाथिको सुनुवाई आगामी बिहीबार गर्ने भएको छ । समितिको सोमबार सिंहदरबारमा बसेको बैठकले जोशीको सुनुवाई साउन १० (बिहीबार) मा गर्ने निर्णय गरेको हो ।
समितिले सोमबारदेखि नै जोशीविरुद्ध परेका उजुरीमाथि छानबिन सुरु गरेको छ । जोशीविरुद्ध ५ वटा उजुरी परेका छन् । उजुरीमध्ये दुइटा बेनामी छन् । समितिले उजुरीको यथार्थ बुझ्न मंगलबार उजुरीकर्तास“ग छलफल गर्ने निर्णय गरेको जानकारी समितिका सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले दिए ।

आफ्नो नाम खुलाई उजुरी दिएका उजुरीकर्ताले जोशीले जग्गा र क्यासिनो मुद्दामा विवादास्पद फैसला गरेको र छोराछोरीको विहेमा अत्याधिक खर्च गरेको दाबी गर्दै उनलाई प्रधानन्यायाधीश बनाउन नहुने उल्लेख गरेका छन् । समितिको यसअघिको बैठकले जोशीमाथि सुनुवाइको प्रक्रिया सुरु गरी उनीविरुद्ध गुनासो र उजुरी भए संसद सचिवालयमा दिन सार्वजनिक आह्वान गरेको थियो ।
संविधानतः संसदीय सुनुवाइ समितिको दुई तिहाइले मात्र संवैधानिक परिषदबाट सिफारिस भएका व्यक्तिलाई अस्वीकृत गर्न सक्छ । एक तिहाइभन्दा बढीले समर्थन गरेमा सुनुवाइ समितिबाट नाम अनुमोदन हुन्छ । दुई तिहाइको समर्थन प्राप्त प्रधानमन्त्री केपी ओली अध्यक्ष र प्रतिपक्षी दल कांग्रेसका नेता शेरबहादुर देउवासमेत सदस्य रहेको संवैधानिक परिषदले जोशीको नाम सिफारिस गरेकाले उनको नाम अस्वीकृत हुने सम्भावना छैन । संसदीय सुनुवाइबाट जोशीको नाम अनुमोदन भएपछि राष्ट्रपति विद्या भण्डारीले उनलाई प्रधानन्यायाधीश नियुक्त गर्नेछिन् । २०११ असोज २४ मा जन्मेका उनी २०७६ असोज २३ सम्म प्रधानन्यायाधीश हुनेछन् ।

No comments:

Post a Comment