Saturday, June 14, 2014

प्रधानमन्त्री उपचारका लागि असार ३ मा अमेरिका जाने

काठमाडौं, २९ जेठ– प्रधानमन्त्री सुशील कोइराला आगामी असार ३ (जुन १७) मा स्वास्थ्योपचारका लागि अमेरिका जाने भएका छन् । त्रिवि शिक्षण अस्पतालमा स्वास्थ्य परिक्षण गर्दा कोइरालाको फोक्सोमा कालो दाग देखिएपछि चिकित्सकहरूले उनलाई अमेरिकामा उपचारका लागि जान सिफारिस गरेका थिए । कोइराला लामो समयदेखि जीव्रोको क्यान्सरबाट पीडित छन् ।
मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले कोइरालालाई असार ३ मा अमेरिका उपचारमा पठाउने र उनको सम्पूर्ण स्वास्थ्योपचार खर्च सरकारले बेहोर्ने निर्णय गरेको छ । अमेरिकाको अस्पतालमा जुन १९ (असार ५) मा चिकित्सकलाई भेट्ने समय मिलिसकेकाले उनी असार ३ मा त्यसतर्फ जाने कार्यक्रम तय भएको हो । 
प्रधानको उपचार खर्च बेहोर्ने 
सरकारले एमाले नेतृ एवं पूर्वमन्त्री साहना प्रधानको सम्पूर्ण उपचार खर्च बेहोर्ने निर्णयसमेत गरेको छ । उनी नर्भिक अस्पतालमा उपचाररत छन् ।
प्रधानमन्त्रीको प्रशासनिक सल्लाहकारमा आचार्य
मन्त्रिपरिषद बैठकले प्रधानमन्त्रीको प्रशासनिक सल्लाहकारमा पूर्वसचिव बाबुराम आचार्यलाई नियुक्त गरेको छ । उनलाई राज्यमन्त्री सरहको सुविधा पाउने गरी सल्लाहकार नियुक्त गरिएको जानकारी प्रधानमन्त्री निकट स्रोतले जानकारी दिएका छन् । स्रोतका अनुसार कोइरालामा प्रशासनिक अनुभव नभएका कारण आचार्यलाई प्रशासनिक सल्लाहकार नियुक्त गरिएको हो ।

विभिन्न निकायमा नियुक्ति
सरकारले सरकारी सञ्चार माध्यमसहित विभिन्न निकायमा नियुक्ति गरेको छ । सरकारले गोरखापत्र संस्थानको अध्यक्षमा वरिष्ठ पत्रकार रमेश तुफान र राष्ट्रिय समाचार समितिको अध्यक्षमा वरिष्ठ पत्रकार कुलचन्द्र वाग्लेलाई नियुक्त गरेको छ । तुफान रासस र वाग्ले गोरखापत्रबाट सेवा निवृत्त भएका पत्रकार हुन् ।
विज्ञान तथा प्रविधि मन्त्रालय मातहतको राष्ट्रिय सूचना प्रविधि केन्द्रको कार्यकारी निर्देशकमा प्रेनिता उपाध्यायलाई नियुक्त गरिएको छ । मन्त्रिपरिषदले सार्वजनिक खरिद पुनरावलोकन समितिका सदस्य अशोकनाथ उप्रेतीको म्याद दुई वर्ष थप गरेको छ ।
हेटौंडा सिमेन्ट उद्योग लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा श्रीधरकुमार पोखरेल, उदयपुर सिमेन्ट कारखानाको सञ्चालक समितिको अध्यक्षमा बिमल कार्की, औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको अध्यक्षमा दयालबहादुर शाही, घरेलु उद्योग विकास समितिको अध्यक्षमा जगन्नाथ नेपाललाई २ वर्षका लागि नियुक्त गरिएको छ ।
खेलकुद परिषदको रिक्त तीन सदस्यमा लामा तेण्डी शेर्पा, सुरेन्द्र हमाल र शकुन्तला नगरकोटीलाई नियुक्त गरिएको छ ।
दुई दाताद्वारा साढे तीन अर्ब सहयोग
साउदी विकास कोष र जर्मन विकास बैंकले करिब साढे तीन अर्ब रुपैया“ सहयोग गर्ने भएका छन् । साउदी विकास कोषले बुढी गंगा जलविद्युत आयोजना निर्माणका लागि २ अर्ब ८२ करोड सहुलियतपूर्ण ऋण र जर्मन विकास बैंकले सौर्य ऊर्जा प्रवद्र्धनका लागि ७३ करोड रुपैया“ अनुदान सहयोग गर्ने भएका छन् । मन्त्रिपरिषदले ती दुवै सहयोग स्वीकार गर्ने निर्णय गरेको छ ।




No comments:

Post a Comment