Thursday, June 19, 2014

अध्यक्ष र त्रिवि सेवा आयोगको नियुक्तिको विरोध

काठमाडौं, ४ असार– प्रजातन्त्रवादी प्राध्यापक संघले आफ्नो संस्थागत निर्णयसहितको सिफारिसलाई लत्याएर प्रधानमन्त्री सुशील कोइरालाले विश्वविद्यालय अनुदान आयोगको अध्यक्ष र त्रिवि सेवा आयोगको सदस्य नियुक्त गरेकामा आपत्ति जनाएको छ ।
संघले बुधबार विज्ञप्ति जारी गरी यी दुवै पदका लागि प्रधानमन्त्रीले आफूसित संस्थागत सिफारिस पठाउन निर्देश गरेको र सोहीअनुसार तीन÷तीन जनाको नाम सिफारिस गरे पनि अर्कै प्रभाववाला व्यक्ति नियुक्त गरिनु दुर्भाग्यपूर्ण भएको टिप्पणी गरेको छ ।
प्रधानमन्त्रीले विश्वविद्यालय अनुदान आयोगको अध्यÔमा प्राध्यापक परासर कोइराला र त्रिवि सेवा आयोगको सदस्यमा केदार घिमिरेलाई नियुक्ति दिलाएका छन् । संघले संस्थागत निर्णय गरी अध्यक्षका लागि प्राध्यापकहरू विनोदकुमार श्रेष्ठ, यज्ञ अधिकारी र प्रेमनारायण अर्यालमध्येबाट एक र त्रिवि सेवा आयोगको सदस्यका लागि प्राध्यापकहरू हरि पराजुली, इन्दिरा जोशी र चन्द्रलाल श्रेष्ठमध्ये एक जनालाई नियुक्त गर्न सिफारिस गरेको थियो । 

सिफारिस माग्ने, तर त्यसलाई लत्याएर प्रभावका आधारमा नियुक्ति गर्दा संघको औचित्य र पार्टीसित यसको सम्बन्धबारे गम्भीर सोच्नुपर्ने अवस्था आउने चेतावनीसमेत संघले दिएको छ । ‘संस्था नमान्ने र बाहिरी प्रभावका आधारमा प्रजातन्त्रवादी प्राध्यापकका नाममा पद लिनेहरूबाट संस्था र समूहका कति साथीहरूलाई हित हुन्छ, सबैले बुझ्नु आवश्यक छ । तसर्थ संघ उक्त निर्णयलाई अविवेकपूर्ण र संघको अस्तित्वमाथि चुनौत ठान्दछ’ संघका अध्यक्ष वासुदेव घिमिरेद्वारा जारी विज्ञप्तिमा छ ।


No comments:

Post a Comment