Tuesday, June 3, 2014

सवारी नियम उल्लंघन नगरेको गृह मन्त्रीको स्पष्टीकरण

काठमाडौं, १९ जेठ– उपप्रधान तथा गृहमन्त्री बामदेव गौतमले गत जेठ ११ मा राजधानीको रत्नपार्कमा जुलुसका कारण यातायात अवरुद्ध भएकाले सुरक्षाकर्मीबाट सडक खुलाउनुभन्दा आफूले नै पहल गर्नु सहज हुने देखेर बाटो काटेको, तर सवारीसम्बन्धी नियम उल्लंघन गर्ने उद्धेश्य नराखेको स्पष्टीकरण दिएका छन् ।
सडकको जेब्रा क्रसबाट नभई अन्यत्रैबाट बाटो काटेर सवारीसम्बन्धी नियम उल्लंघन गरेको भनी सञ्चार माध्यम र सामाजिक सञ्जालमा आफ्नो निरन्तर विरोध भइरहेकोमा रोष प्रकट गर्दै गृहमन्त्रीले सोमबार विज्ञप्ति जारी गरी  त्यसबारेमा स्पष्टीकरण दिएका हुन् ।
उनले विज्ञप्तिमा उक्त दिन रत्नपार्कको शान्ति बाटिकामा आफ्नो पार्टी नेकपा एमालेले काठमाडौं क्षेत्र नं. २ मा उम्मेदवारी दिन जान निकालेको जुलुसले बाटो अवरुद्ध भएको र आफू त्यसैमा मिसिन बाटो काटेको उल्लेख गरेका छन् ।
उनले सामान्य कुरालाई अतिरिञ्जित गर्ने र सामाजिक सञ्जालहरूमा आफूलाई अपमान र गालीगलौज गर्ने जुन प्रवृत्ति देखिएको छ, त्यो स्वीकार्य नभएको उल्लेख गरेका छन् । ‘मैले कुनै पनि रूपमा सवारी नियम उल्लंघन गर्ने उद्धेश्य राखेको थिइन । मेरो सो कामबाट सवारी आवागमनमा कुनै किसिमले असुविधा पुगेको थिएन । तथापि मेरो उक्त कार्य तत्कालीन सन्दर्भलाई अलग गरेर हेर्ने हो भने शोभनीय भएन कि भन्ने कुरा मैले पनि महसुस गरेको छु’ विज्ञप्तिमा छ ।

No comments:

Post a Comment