Saturday, June 28, 2014

कोइरालाद्वारा सरकारका कामकारबाही सुचारु गर्न निर्देशन

कार्यवाहक प्रधानमन्त्री गौतमको अध्यक्षतामा मन्त्रिपरिषद बैठक बस्ने
कोइरालाद्वारा कार्यवाहक सभापतिको जिम्मा पौडेललाई, संसदीय दलको बैठक सोमबार   
काठमाडौं, १३ असार– प्रधानमन्त्री सुशील कोइरालाले आफू अमेरिकामा उपचारार्थ थप केही समय बस्नुपर्ने भएपछि कार्यवाहक प्रधानमन्त्री वामदेव गौतम र कांग्रेसका मन्त्रीहरूलाई मन्त्रिपरिषद बैठक बोलाई सरकारी कामकारबाही सुचारु गर्न निर्देशन दिएका छन् । उनी असार २ मा अमेरिका गएका थिए ।
कोइरालाले फोक्सोमा क्यान्सर देखिएपछि फोन सम्पर्कमा आएका गौतम र कांग्रेस मन्त्रीहरूलाई आफू अनुपस्थिति भए पनि कार्यवाहक प्रधानमन्त्रीको अध्यक्षतामा मन्त्रिपरिषद बैठक बोलाएर सरकारको कामकारबाही सुचारु गर्न निर्देशन दिएको जानकारी सूचना तथा सञ्चारमन्त्री मिनेन्द्र रिजालले दिए । 
रिजालका अनुसार कोइराला नफर्केसम्म कार्यवाहक प्रधानमन्त्रीको अध्यक्षतामा मन्त्रिपरिषद बैठक गरी वैधानिक ढंगले सरकारका कामकारबाहीलाई अघि बढाइनेछ । कोइरालाले आफू अनुपस्थित भए पनि सरकारका कुनै पनि कामकारबाही नरोक्न आग्रह गरेको जानकारीसमेत रिजालले दिए ।
प्रधानमन्त्री विदेश भ्रमणमा विदेशमा जा“दा उपप्रधानमन्त्री या मन्त्रिपरिषदको वरिष्ठ मन्त्रीलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिने प्रचलन छ, तर नेपालमा यसअघि कार्यवाहक प्रधानमन्त्रीको अध्यक्षतामा मन्त्रिपरिषद बैठक बसेको उदाहरण छैन ।

तर, संविधान र कानुनले कार्यवाहक प्रधानमन्त्रीले मन्त्रिपरिषद बैठक बोलाउन र सरकारलाई सुचारु गर्न नरोकेको रिजालले उल्लेख गरे । उनका अनुसार प्रधानमन्त्रीकै आग्रह र उनको सहमति लिएर सरकारले नीति तथा कार्यक्रम तथा बजेट ल्याउने र अत्यावश्यक निर्णय गर्दै जानेछ । प्रधानमन्त्रीले आफू अमेरिका जानु अघिल्लो दिन बसेको मन्त्रिपरिषद बैठकमा आफ्नो अनुपस्थितिमा सरकारको कार्यभार अघि बढाउने जिम्मा उपप्रधानमन्त्री गौतमलाई दिएका थिए ।
‘प्रधानमन्त्री कोइराला कार्यवाहक प्रधानमन्त्री गौतम र हामीसित नियमित सम्पर्कमा हुनुहुन्छ । उहा“ले हामीलाई सरकारका कामकारबाही नरोक्नोस् । मन्त्रिपरिषद बैठक बोलाएर नीति तथा कार्यक्रम र बजेट समयमै ल्याउनोस् । अत्यावश्यक निर्णय गर्नोस् भनेर कार्यवाहक प्रधानमन्त्री र हामी (अरू मन्त्री) लाई भन्नुभएको छ । सरकारले प्रधानमन्त्रीको अनुपस्थितिमा समेत आफ्ना कामकारबाही सुचारु ढंगले अघि बढाउनेछ’ रिजालले कान्तिपुरसित भने ।
उनले कार्यवाहक प्रधानमन्त्रीको अध्यक्षतामा बस्ने मन्त्रिपरिषद बैठकले प्रधानमन्त्रीसित सोधेर र उनको सहमतिमा निर्णयमा गर्ने जानकारी दिए । ‘प्रधानमन्त्रीसित स्वभाविक रूपमा सोधेर र उहा“को अनुमति लिएर मन्त्रिपरिषदबाट निर्णय गर्छौं’ रिजालले भने ।
प्रधानमन्त्रीको अनुपस्थितिमा कार्यवाहक प्रधानमन्त्री गौतमको अध्यक्षतामा शनिबार या आइतबार मन्त्रिपरिषदको पहिलो बैठक बस्दैछ । उक्त बैठकले सरकारको नीति तथा कार्यक्रम पारित गर्ने र आइतबार व्यवस्थापिका–संसदको बैठकमा पेस गर्ने कार्यक्रम तय भइसकेको छ । उक्त बैठक कार्यवाहक प्रधानमन्त्रीको अध्यक्षतामा बस्ने पहिलो मन्त्रिपरिषद बैठक हुनेछ ।
व्यवस्थापिका–संसदमा नीति तथा कार्यक्रममा छलफल गर्दा उठेका प्रश्नको जवाफसमेत प्रधानमन्त्रीका तर्फबाट कार्यवाहक प्रधानमन्त्री गौतमले दिनेछन् । सरकारले प्रधानमन्त्रीको अनुपस्थितिमा नीति तथा कार्यक्रम र बजेट ल्याउने एवं अत्यावश्यक निर्णय गर्नेबाहेक पछि निर्णय गरे पनि हुने अरू नियुक्ति, सरुवा र बढुवाका नियमिता काम भने नगर्ने जानकारी रिजालले दिए ।
यसैबीच कांग्रेस सभापति कोइरालाले आफू अमेरिकामा थप केही दिन उपचारार्थ बस्नुपर्ने भएपछि उपसभापति रामचन्द्र पौडेललाई कार्यवाहक सभापतिका रूपमा पार्टीका कामकारबाही अघि बढाउन बिहीबार निर्देशन दिएका छन् ।
पौडेलले आफूले स्वास्थ्यस्थितिबारेमा बुझ्न टेलिफोन सम्पर्क गर्दा कोइरालाले त्यस्तो निर्देशन दिएको जानकारी कान्तिपुरलाई दिए । कोइरालाले आफू अमेरिका जाने क्रममा उपसभापति पौडेललाई कार्यवाहक सभापति भएर काम गर्न लिखित रूपमा जिम्मा सदएका थिएनन् ।
तर, अमेरिका बसाइ लम्बिने भएपछि कोइरालाले उपसभापति पौडेललाई कार्यवाहक सभापतिका रूपमा पार्टीका सम्पूर्ण गतिविधि अघि बढाउन र संसदीय दल तथा कार्यसमितिको बैठक बोलाएर आवश्यक निर्णय लिने अख्तियारी प्रदान गरेका हुन् । पौडेलले कार्यवाहक सभापतिको हैसियतले प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार पार्टीका केन्द्रीय पदाधिकारीको बैठक बोलाए ।
पौडेलले कोइराला र उनका निजी चिकित्सक करवीरनाथ योगीबाट आफूले पाएको उनको स्वास्थ्यस्थितिका बारेमा पदाधिकारीलाई जानकारी गराएका थिए । पौडेलले कोइरालाले आफ्नो अनुपस्थितिमा पार्टीका गतिविधिलाई सुचारु गर्न र आवश्यक निर्णय लिन निर्देशन दिएको जानकारीसमेत बैठकलाई गराएका थिए ।
उनका अनुसार पदाधिकारी बैठकले सभापति कोइरालाको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ । पदाधिकारी बैठकले कांग्रेस संसदीय दल र केन्द्रीय कार्यसमितिको बैठकसमेत बोलाउने भएको छ । कांग्रेसमा संसदीय दल र कार्यसमिति लामो समयदेखि नबसेकाले बैठक बोलाउन माग हु“दै आएको थियो । 
पदाधिकारी बैठकले सोमबार मा संसदीय दल बैठक बोलाउने निर्णय गरेको जानकारी पौडेलले दिए । संसदको बजेट अधिवेशनमा पार्टीले लिने रणनीति तय गर्न तथा बजेटबारे सुझाव दिन संसदीय दलको बैठक बोलाइएको हो । पौडेलले केन्द्रीय कार्यसमितिको बैठकसमेत छिट्टै बोलाउने जानकारीसमेत दिए । पदाधिकारी बैठकमा वरिष्ठ नेता शेरबहादुर देउवासहित सबै पदाधिकारी सहभागी थिए ।





No comments:

Post a Comment