Thursday, October 30, 2014

प्रधानमन्त्रीद्वारा नेपाली क्रिकेट टोलीलाई बधाई

कोइरालाद्वारा कप्तान पारससँग फोनमा कुराकानी 
काठमाडौं, १३ कात्तिक–  प्रधानमन्त्री सुशील कोइरालाले मलेसियामा सम्पन्न आइसीसी वल्र्ड कप क्रिकेट लिग डिभिजन थ्री २०१४ को प्रतियोगितामा विजयी भई च्याम्पियन भएकामा नेपाली टोलीलाई बधाइ दिएका छन् ।
उनले नेपाली क्रिकेट टीम बिहीबारको युगान्डाविरुद्धको खेलमा विजयी भई डिभिजन थ्री च्याम्पियन भएको खबर थाहा पाउनासाथ कप्तान पारस खड्कालाई टेलिफोन गरी बधाई दिएको जानकारी प्रधानमन्त्री कार्यालय स्रोतले दिएको छ । 

प्रधानमन्त्री कोइरालाले नेपाली क्रिकेट टिम डिभिजन थ्री च्याम्पियन र डिभिजन टुमा प्रमोसन भएकामा नेपाल सरकार, नेपाली जनता र आफ्नो व्यक्तिगत तर्फबाट नेपाली क्रिकेट टिमका कप्तान, प्रतियोगितामा सहभागी सबै नेपाली खेलाडी र प्रशिक्षकलाई बधाई दिएका छन् ।
प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार उनले अन्तर्राष्ट्रिय खेल जगतमा नेपालको  राष्ट्रिय झण्डा उचो बनाएर नेपालीको शान र मान अभिवृद्धि गराउने समस्त खेलाडी र प्रशिक्षकप्रति आफूलाई गर्व लागेकोसमेत उल्लेख गरेका छन् ।
उनले यो सफलताले नेपाली क्रिकेट टीमलाई आउ“दा दिनमा अझ उत्कृष्ट खेल प्रदर्शन गरी क्रिकेटमा सर्वोपरी स्थान हासिल गर्ने सफलता मिलोस् भन्ने शुभकामनासमेत व्यक्त गरेका छन् ।
प्रधानमन्त्रीले यस क्रिकेट प्रतियोगितामा विजेता बनी नेपाललाई डिभिजन थ्रीबाट डिभिजन टुमा प्रमोसन गराएर नेपाली क्रिकेट टीमले राष्ट्रिय गौरव बढाएको बताए । 


No comments:

Post a Comment