Friday, August 3, 2018

मन्त्रिपरिषदले पायो पूर्णता

ढकाल कानुन र अर्याल भूमि व्यवस्थामन्त्री, यादव स्वास्थ्य राज्यमन्त्री
काठमाडौं, १८ साउन– प्रधानमन्त्री केपी ओलीले शुक्रबार मन्त्रिपरिषद् विस्तार गरी २५ सदस्यीय बनाएका छन् । प्रधानमन्त्रीले कानुन, न्याय तथा संसदीय मामिलामन्त्रीमा भानुभक्त ढकाललाई नियुक्त गरेका छन् ।
बंगलादेशमा चिकित्सा शिक्षा अध्ययनरत विद्यार्थीका विषयमा आपत्तिजनक अभिव्यक्ति दिएपछि तत्कालीन कानुनमन्त्री शेरबहादुर तामाङ विवादमा परेका थिए । पार्टीको दबाबमा उनले साउन ८ मा राजीनामा दिएपछि रिक्त मन्त्रालयमा ढकाललाई नियुक्त गरिएको हो । 
ढकाल नेकपाका पोलिटब्युरो सदस्य एवं मोरङ–३ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुन् । अनेरास्ववियुका महासचिव भइसकेका ढकाल दोस्रो संविधानसभा सदस्यसमेत थिए । प्रधानमन्त्री ओलीले स्वास्थ्य राज्यमन्त्री पद्मा अर्याललाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री नियुक्त गरेका छन् । 

अर्याल सुरुमा स्वतन्त्र कार्यभारसहित स्वास्थ्य राज्यमन्त्री थिइन् । प्रधानमन्त्रीले संघीय समाजवादी फोरमलाई सत्तामा ल्याई त्यसका अध्यक्ष उपेन्द्र यादवलाई स्वास्थ्यमन्त्री नियुक्त गरेपछि अर्याललाई कृषि, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय फुटाई नया“ मन्त्रालयको जिम्मेवारी दिइएको हो । उनी स्याङजा–२ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुन् ।
यस्तै, फोरमका सांसद सुरेन्द्र यादव स्वास्थ्य राज्यमन्त्री नियुक्त गरिएका छन् । यादव महोत्तरी–४ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुन् । राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त दुई मन्त्री र एक राज्यमन्त्रीलाई शुक्रबार नै शपथग्रहण गराइन् ।
मन्त्रिपरिषद् २५ सदस्यीय पुगेकाले प्रधानमन्त्रीले अब यसलाई विस्तार गर्न पाउने छैनन् । संविधानमा केन्द्रमा बढीमा २५ सदस्यीय मन्त्रिपरिषद् बनाउन पाइने उल्लेख छ ।

No comments:

Post a Comment