Tuesday, August 21, 2018

जुम्लामा एमबीबीएस कलेज सुरु गर्न कार्यदल

डा. केसीसित भएको सहमतिबमोजिम थप तीन ठाउँ मेडिकल कलेज खोल्न अध्ययन कार्यदल
काठमाडौ, ४ भदौ– सरकारले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस कलेज सञ्चालन गर्न उच्चस्तरीय कार्यदल गठन गरेको छ । शिक्षा मन्त्रालयले डा. गोविन्द केसीसित भएको सहमतिबमोजिम मुलुकको सबभन्दा दुर्गम अञ्चलको केन्द्र जुम्लामा एमबीबीएस कलेज सञ्चालन गर्न कार्यदल गठन गरेको हो ।
शिक्षामन्त्री गिरिराजमणि पोखरेलले आइतबार मन्त्रालयस्तरीय निर्णय गराई वीर अस्पतालका वरिष्ठ चिकित्सक प्रा. डा. श्रीकृष्ण गिरीको संयोजकत्वमा गठित कार्यदलमा डा. केसीका प्रतिनिधि डा. जीवन क्षेत्री र प्रा. डा, केदार बराल सदस्य छन् ।
बराल पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत चिकित्सक हुन् ।  कर्णाली प्रदेश सरकारका प्रतिनिधि, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्रतिनिधि, सुर्खेत अञ्चल अस्पतालका प्रतिनिधिसमेत कार्यदलमा सदस्य रहनेछन् । कर्णाली प्रदेश सरकार र प्रतिष्ठान तथा अस्पतालले प्रतिनिधि तोकेपछि कार्यदलले पूर्णता पाउनेछ । कार्यदललाई तीन महिनाको म्याद दिइएको छ ।

डा. केसीको पछिल्लो अनसनका क्रममा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एबीबीएससहितको स्नातक तहमा विद्यार्थी भर्ना सुरु गरी कलेज सञ्चालन गर्ने सहमति भएको थियो ।
कार्यदलका सदस्य डा. जीवन क्षेत्रीले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मेडिकल कलेज सञ्चालन गर्नका लागि आवश्यक भौतिक पूर्वाधार, जनशक्ति र आर्थिक स्रोतको व्यवस्थापन तथा विद्यमान समस्या समाधान गर्न आफूहरूले सुझाव प्रतिवेदन दिने जानकारी दिए । ‘हामीले जतिसक्दो छिटो स्थलगत अध्ययन गरी सुझावसहितको प्रतिवेदन दिनेछौं, त्यही आधारमा सरकारले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस कक्षा सुरु गर्नेछ’ क्षेत्रीले भने ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान नाम दिइए पनि त्यहा“ हाल प्रमाणपत्र तहको हेल्थ एसिस्टेन्ट, एनेस्थेसिया एसिस्टेन्ट र स्टाफ नर्सको मात्र कक्षा सञ्चालन भइरहेको छ । एमबीबीएसलगायतको स्नातक तहको कक्षा सुरु हुन सकेको छैन ।
शिक्षा मन्त्रालयले राजधानीबाहिर तीनवटा मेडिकल खोल्नका लागि उच्चस्तरीय अध्ययन कार्यदल गठन गरेको छ । केसीसितको पछिल्लो अनसनका क्रममा जतिसक्दो छिटो सरकारी लगानीमा इलाम या पा“चथर, उदयपुर र डडेल्धुरा या डोटीमा मेडिकल कलेज खोल्ने सम्झौता भएको थियो । त्रिविका पूर्वउपकुलपछि केदारभक्ता माथेमाको संयोजकत्वमा गठित कार्यदलले समेत ती तीन ठाउ“मा मेडिकल कलेज खोल्न सरकारलाई सुझाव दिएको थियो ।
 पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्राध्यापक मधुसुदन सुवेदीको संयोजकत्वमा गठित छ सदस्यीय कार्यदलमा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका डा. शैलेशमणि पोखरेल, शिक्षा मन्त्रालयका सहसचिव हरि लम्साल र सुदूर पश्चिम विश्वविद्यालय महेन्द्रनगरका प्राध्यापक शंकर भट्ट सदस्य छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहसचिव र नेपाल मेडिकल काउन्सिलका प्रतिनिधिसमेत कार्यदलमा सदस्य रहनेछन् । स्वास्थ्य मन्त्रालय र प्रतिष्ठानले प्रतिनिधि तोकेपछि कार्यदलले पूर्णता पाउनेछ ।
कार्यदलले ती तीन ठाउ“मा मेडिकल कलेज खोल्न आवश्यक भौतिक पूर्वाधारको व्यवस्था, जनशक्तिको व्यवस्थापन, आवश्यक लागत अनुमानको अध्ययन गरी सरकारलाई तीन महिनाभित्रमा प्रतिवेदन दिनेछ । तोकिएका जिल्लाको पनि कुन ठाउ“मा कलेज खोल्नु उपयुक्त हुन्छ भन्नेबारेमा समेत कार्यदलले सरकारलाई सुझाव दिनेछ । कार्यदलको अध्ययन प्रतिवेदन आएपछि सरकारले ती तीन ठाउ“मा मेडिकल कलेज खोल्ने प्रक्रिया सुरु गर्ने जानकारी शिक्षा मन्त्रालयका अधिकारीले दिए ।

No comments:

Post a Comment