Friday, August 31, 2018

१० समितिको सभापतिको चुनाव स्थगित

काठमाडौं, १५ भदौ–  प्रतिनिधिसभामातहतका १० वटा समितिका सभापतिको चुनावसम्बन्धी पूर्वनिर्धारित कार्यक्रम स्थगित गरिएको छ । प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले शुक्रबार सूचना प्रकाशित गरी सभामुख कृष्णबहादुर महराको निर्देशनमा यही १७ गते हुने चुनाव कार्यक्रम स्थगित गरिएको जनाएका छन् । 
प्रमुख प्रतिपक्षी कांग्रेस, सत्तारूढ दल संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टीले समेत समितिको सभापतिमा दाबा गरिरहेको अवस्थामा दलहरूलाई राजनीतिक सहमति जुटाउने मौका दिन अर्को सूचना प्रकाशित नभएसम्मका लागि सभापतिको चुनाव रोकिएको जानकारी स्रोतले दिएको छ । स्रोतका अनुसार सभामुख महराको यही २२ देखि २७ सम्म चीनको भ्रमण गर्ने कार्यक्रम छ । सभामुखको भ्रमणका कारण अर्को मिति नतोकी अनिश्चित कालसम्मका लागि चुनाव स्थगित गरिएको हो ।  
प्रतिनिधिसभा मातहतमा शिक्षा तथा स्वास्थ्य, सार्वजनिक लेखा, अर्थ, अन्तर्राष्ट्रिय सम्बन्ध, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता, कानुन, न्याय तथा मानवअधिकार, कृषि, सहकारी तथा प्राकृतिक स्रोत, महिला तथा सामाजिक, राज्य व्यवस्था तथा सुशासन, विकास तथा प्रविधि समिति छन् । 



No comments:

Post a Comment