Thursday, August 23, 2018

बालिका हत्याको छानबिन गर्न समिति गठन

कञ्चनपुरका सीडीओ, प्रहरी प्रमुख र उपप्रमुख फेरिए
काठमाडौं, ७ भदौ– गृहमन्त्रालयले कञ्चानपुरकी १३ वर्षीया किशोरीको बलात्कारपछि हत्या भएको घटनाबारे अनुसन्धान गर्न सहसचिव हरिप्रसाद मैनालीको नेतृत्वमा उच्चस्तरीय छानबिन समिति गठन गरेको छ ।
उक्त घटनामा प्रहरीको अनुसन्धानमाथि अविश्वास गर्दै स्थानीयबासीले दिनहु“ विरोध प्रदर्शन गर्न थालेपछि गृहमन्त्रालयले बिहीबार मन्त्रीस्तरीय निर्णय गरी ५ सदस्यीय छानबिन समिति गठन गरेको हो । 
गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीका अनुसार समितिमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका एक÷एक जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) र ७ नंं. प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रतिनिधि सदस्य छन् ।
उक्त घटनामा स्थानीय प्रशासन र प्रहरीप्रति जनआक्रोश बढेपछि गृह मन्त्रालयले बिहीबार नै कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खडका, प्रहरी प्रमुख एसपी डिल्लीराज बिष्ट र डीएसपी ज्ञानबहादुर सेठीलाई सरुवा राजधानीमा फिर्ता बोलाएको छ ।
प्रहरीले घटनाको २५ दिनपछि अभियुक्त दिलीपसिंह बिष्ट हुन् भन्दै सार्वजनिक गरेको थियो । स्थानीयबासीले भने वास्तविक अपराधीलाई लुकाएर मानसिक अवस्था कमजोर भएका विष्टलाई पक्राउ गरी सार्वजनिक गरेको भन्दै आन्दोलन चर्काएपछि गृहले बिहीबार कञ्चनपुरका सीडीओ, एसपी र डीएसपी तीनै जनालाई फिर्ता गरेको हो ।
गृहले कञ्चनपुरको सीडीओमा सहसचिव तारानाथ अधिकारी, जिल्ला प्रहरी प्रमुखमा एसपी कुवेरसिंह कठायत र डीएसपी कृष्णराज ओझालाई पठाएको छ । उनीहरू तीनै जनाले शुक्रबार नै जिल्लामा पुगेर जिम्मेवारी सम्हाल्ने र घटनाको छानबिन थाल्ने जानकारी गृह मन्त्रालयले दिएको छ ।

No comments:

Post a Comment