Friday, October 4, 2019

पत्रकार शिवाकोटीको सुरक्षामा ध्यान दिन आग्रह

काठमाडौं, १६ असोज– नेपाल पत्रकार महासंघ, नेपाल प्रेस युनियन र अनलाइन पत्रकार संघले पत्रकार अजयबाबु शिवाकोटीलाई समाचार लेखेकै भरमा धम्की आउन थालेकामा आपत्ति जनाउँदै उनको सुरक्षाप्रति ध्यान दिन सरकारलाई आग्रह गरेका छन् ।
ती संघसंस्थाले बिहीबार विज्ञप्ति जारी गरी सभामुख कृष्णबहादुर महराबाट संसद सचिवालयमै कार्यरत महिला कर्मचारीमाथि दुव्र्यवहार भएको भन्ने समाचार लेखेका शिवाकोटीमाथि अज्ञात फोनबाट धम्की आइरहेकोप्रति आफ्नो ध्यानाकर्षण भएको उल्लेख गर्दै उनको सुरक्षामा ध्यान दिन माग गरेका हुन् । दुव्र्यवहारको घटना सार्वजनिक भएपछि महराले पदबाट राजिनामा दिइसकेका छन् ।पत्रकार शिवाकोटीले आफूलाई अज्ञात नम्बरबाट फोन गरेर धम्की आउन थालेको प्रहरीलाई जानकारी गराएका छन् । पत्रकार महासंघ, प्रेस युनियन र अनलाइन पत्रकार संघद्वारा जारी छुट्टाछुट्टै विज्ञप्तिमा समाचार लेखेकै आधारमा धम्की आउनु दुःखद भएको उल्लेख गर्दै प्रेस स्वतन्त्रताविरोधी त्यस्ता गतिविधिप्रति गम्भीर हुन सरकारको ध्यानाकर्षण गराएका छन् ।

No comments:

Post a Comment