Thursday, October 31, 2019

१७१ मृतक कामदारका परिवारलाई ७/७ लाख

काठमाडौं, १३ कात्तिक– चालु आर्थिक वर्षको तीन महिना अवधिमा वैदेशिक रोजगारीका क्रममा मृत्यु भएका १ सय ७१ कामदारका परिवारलाई सरकारले राहतस्वरूप आर्थिक सहायता गरेको छ । वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले साउनमा ६०, भदौमा ६४ र असोजमा ४७ मृतक कामदारका परिवारलाई ७/७ लाख रुपैयाँका दरले आर्थिक सहायता उपलब्ध गराएको हो ।
बोर्डले वैदेशिक रोजगारीका क्रममा करार अवधिभित्र तथा नेपाल फर्केको एक वर्षभित्र मृत्यु भएका व्यक्तिका परिवारलाई ७ लाखका दरले आर्थिक सहायता दिने गरेको छ । तीन महिना अवधिमा बोर्डले वैदेशिक रोजगारीका क्रममा अंगभंग तथा बिरामी भएका ९८ कामदारका परिवारलाई आर्थिक सहायता गरेको छ । बोर्डका अनुसार कामदारको परिवारका सात जनालाई औषधोपचार सहयोग उपलब्ध गराइएको थियो ।
बोर्डले कामदारको परिवारका सदस्यलाई क्यान्सर, मिर्गौला, मुटु, पार्किन्सन र अल्जाइमर रोगको उपचारका लागि आर्थिक सहायता दिने गरेको छ । बोर्डले सामान्य अवस्थाका बिरामीलाई १५ हजार, मध्यम अवस्थाका बिरामीलाई ३० हजार र गम्भीर अवस्था भएमा प्रतिव्यक्ति ५० हजार रुपैयाँ सहयोग गर्ने गरेको छ ।
यस आर्थिक वर्षको तीन महिनाको अवधिमा बोर्डले १ सय ८४ कामदारको शव मृतकको घरठेगानासम्म निःशुल्क रूपमा पु¥याइदिएको समेत जनाएको छ । वैदेशिक रोजगारीका क्रममा मृत्यु भएका कामदारको शव त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट घरठेगानासम्म लैजान बोर्डले सहयोग गर्ने गरेको छ ।

No comments:

Post a Comment