Saturday, October 26, 2019

‘एक्सन रुमको कार्यक्रममा प्रधानमन्त्रीपत्नी सहभागी हुनु अस्वभाविक’

काठमाडौं, ७ कात्तिक– प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको ‘एक्सन रुम’ मा बुधबार आयोजित सरकारी औपचारिक कार्यक्रममा प्रधानमन्त्री पत्नी राधिका शाक्य उपस्थित हुनु अस्वभाविक भएको जानाकारहरूले बताएका छन् । सार्वजनिक ओहोदामा भएका व्यक्तिमात्र सरकारी कार्यक्रममा सहभागी हुने कानुनी व्यवस्था र परम्पराविपरीत शाक्य एक्सन रुममा आयोजित कार्यक्रममा सहभागी हुनुलाई सामान्य भन्न नमिल्ने टिप्पणी पूर्वमुख्यसचिव बिमल कोइरालाले गरेका छन् ।
उनले सरकारी कामको गोपनीयताको दृष्टिकोणले समेत सार्वजनिक (सरकारी) ओहोदामा नरहेकी शाक्य प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय होस् या कुनै पनि सरकारी औपचारिक कार्यक्रममा सहभागी हुन नमिल्ने बताउँछन् । प्रधानमन्त्रीसँग प्रधानमन्त्रीपत्नी भ्रमणमा जानु सामान्य हो । तर, सरकारी कार्यक्रममा प्रधानमन्त्री पत्नी उपस्थित हुन मिल्दैन । यो बढ्तै भयो’ कोइरालाले भने ।
सार्वजनिक पदमा नरहेको व्यक्तिसमेत सरकारी कार्यक्रम र मिटिङमा सहभागी हुन पाउने हो भने सरकारी कामको गोपनीयता नै नरहने र सरकारी कार्यविधिको कुनै अर्थ नरहने टिप्पणीसमेत कोइरालाको छ । ‘सरकारी कार्यविधिमा नै सरकारको औपचारिक कार्यक्रम र मिटिङमा सार्वजनिक ओहोदामा रहेका व्यक्तिमात्र सहभागी हुन पाउने व्यवस्था छ । सरकारी कामको गोपनीयताको हिसाबले समेत सार्वजनिक पदमा नरहेको व्यक्ति सरकारी कार्यक्रम र मिटिङमा सहभागी हुन मिल्दैन’ उनले भने ।
अर्का पूर्वमुख्यसचिव सोमलाल सुवेदीले समेत सरकारी औपचारिक कार्यक्रममा प्रधानमन्त्री पत्नी सहभागी हुन नमिल्ने बताउ“छन् । ‘प्रधानमन्त्री कार्यालयमा बनेको एक्सन रुम हेर्न सर्वसाधारणले त मिल्छ भने प्रधानमन्त्रीपत्नीले नमिल्ने भन्ने कुरै भएन । तर, सरकारी औपचारिक कार्यक्रम र मिटिङमा सरकारी ओहोदामा नरहेको व्यक्ति सहभागी हुन मिल्दैन’ सुवेदीले भने ।
प्रधानमन्त्री केपी ओलीले बुधबार एक्सन रुममा आयोजित कार्यक्रमबाट भिडियो कन्फरेन्स (टेलिप्रिजेन्स) प्रविधिबाट गौरवका आयोजनाहरूको प्रगति विवरणबारेमा प्रत्यक्ष जानकारी लि“दै आयोजना समयै सक्न निर्देशन दिएका थिए । एक्सन रुममा आयोजित कार्यक्रममा प्रधानमन्त्री पत्नी शाक्य प्रधानमन्त्री ओलीसँगै सहभागी थिइन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा भिडियो कन्फरेन्स (टेलिप्रिजेन्स) प्रविधिबाट राष्ट्रिय गौरवका २३ वटै आयोजनाको प्रत्यक्ष निगरानी गर्न एक्सन रुम बनाइएको हो ।
प्रधानमन्त्री, मुख्यसचिव र मन्त्रिपरिषद कार्यालयका अधिकारीहरूले एक्सन रुममै बसेर गौरवका सबै आयोजनाका प्रमुखसँग भिडियो संवाद गर्न र निर्देशन दिन सकिन्छ, आयोजनास्थलहरूको कार्यप्रगति सिधै हेर्नसमेत सकिन्छ । एक्सन रुम र सातवटै प्रदेशका मुख्यमन्त्रीबीच भिडियो कन्फरेन्स गर्न सकिने व्यवस्था गरिएको छ । त्यहाँबाट प्रधानमन्त्रीले सातै प्रदेशका मुख्यमन्त्रीहरूसित सिधै छलफल गर्न सक्ने छन् ।

No comments:

Post a Comment