Friday, October 11, 2019

महरा सांसदबाट निलम्बित

काठमाडौं, २३ असोज– संघीय संसद् सचिवालयकी कर्मचारी रोशनी शाहीलाई यौन दुव्र्यवहार गरेको अभियोगमा हिरासतमा रहेका तत्कालीन सभामुख कृष्णबहादुर महरा सांसद पदबाट निलम्बन भएका छन् । निलम्बनसँगै महराको सांसदको हैसियतमा पाउने सेवा–सुविधासमेत रोक्का हुने सचिवालयले जनाएको छ । संघीय संसद् सचिवालयले फौजदारी अभियोग लागेका महराको सांसद पद निलम्बनमा परेको जनाएको छ ।
संसद् सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईले महरा निलम्बनमा परेको सूचना बिहीबार जारी गरेका छन् । प्रतिनिधिसभा नियमावलीमा फौजदारी अभियोग लागेका सांसदको पद निलम्बन हुने व्यवस्था छ । महरा पक्राउ परेपछि कार्यालय खुलेकै दिन सचिवालयले उनी सांसदबाट निलम्बनमा परेको सूचना जारी गरेको हो । तत्कालीन सभामुख महराले सचिवालयकै कर्मचारी शाहीलाई तीनकुनेस्थित निवासमा गएर दुव्र्यवहार गरेका थिए । दुव्र्यवहारको घटना सार्वजनिक भएपछि उनले सभामुख पदबाट राजीनामा दिएका थिए । शाहीले आफूमाथि बलात्कार प्रयास गरेको किटानी जाहेरी दर्ता गरेपछि प्रहरीले जिल्ला अदालत काठमाडौंको अनुमतिमा महरालाई सभामुखकै सरकारी निवासबाट आइतबार पक्राउ गरी हिरासतमा राखेको छ ।


No comments:

Post a Comment