Tuesday, October 22, 2019

नेवारी भाइटिकाको दिन बिदा दिन माग

काठमाडौं, ४ कात्तिक– उपत्यकाका जनप्रतिनिधिहरूले नेवार समुदायको भाइटिकाको दिन कात्तिक १३ गते सार्वजनिक बिदा दिन सरकारसित माग गरेका छन् । उनीहरूले प्रधानमन्त्री केपी ओलीलाई भेटी नेवार समुदायले आफ्नै पात्रोअनुसार मनाउने पर्व भाइटिकाको दिन सार्वजनिक बिदा दिन माग गरेका हुन् ।
पञ्चांग निर्णायक समितिको पात्रोअनुसारको भाइटिका कात्तिक १२ मा परेको भने नेवार समुदायको पात्रोअनुसार भाइटिका कात्तिक १३ मा परेको छ । सरकारले कात्तिक १२ गतेको भाइटिकाका दिन सार्वजनिक बिदा दिएको छ । तर, नेवार समुदायको भाइटिकाको दिन भने बिदा दिइएको छैन । नेवार समुदायको पात्रोअनुसार कात्तिक १२ मा म्ह पूजा र १३ गते भाइटिका परेको छ ।
नेकपाका ३ नं. प्रदेशसभा सदस्य राजेश शाक्यले उपत्यकाका जनप्रतिनिधिहरूले प्रधानमन्त्रीलाई भेटी नेवार समुदायको भाइटिकाको दिनसमेत बिदा दिन माग गरेको जानकारी दिए । आफूहरूसितको छलफलका क्रममा प्रधानमन्त्री ओलीले नेवार समुदायका पर्व र धार्मिक परम्पराप्रति आफू गम्भीर रहेको उल्लेख गर्दै भाइटिकाका दिन बिदा दिने आश्वासन दिएको जानकारी शाक्यले दिए ।

No comments:

Post a Comment