Sunday, October 20, 2019

अनुसन्धानमा सघाउनु कांग्रेसको कर्तव्य : प्रवक्ता शर्मा

काठमाडौं, २ कात्तिक– कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले पूर्वमन्त्री एवं पार्टीका सांसद आफ्ताव आलम मुद्दाको निष्पक्ष अनुसन्धान प्रक्रियामा आफ्नो पार्टीले सहजतापूर्वक सघाउने बताएका छन् । शर्माले शनिबार ट्वीट गरी आफ्नो पार्टीको संघर्ष विधिको शासन र दबाबमुक्त कानुनी राज्यका लागि भएको उल्लेख गर्दै स्थापनाकालदेखिको संस्थागत मान्यताअनुरूप आलम प्रकरण अनुसन्धानमा कांग्रेसले सघाउने जनाएका हुन् ।
‘हाम्रो संघर्ष विधिको शासन र दबाबमुक्त कानुनी राज्यका लागि थियो, हो र रहनेछ । अनुसन्धानमा सहजतापूर्वक सघाउनु हाम्रो कर्तव्य हो । स्थापनाकालदेखिको हाम्रो संस्थागत मान्यता कस्तै परिस्थितिमा किमार्थ बदलिन्न । यही नै हाम्रो स्थायी धारणा, स्थायी विश्वास र स्थायी बाटो पनि हो,’ उनले ट्वीटमा भनेका छन् ।
उनले यसअघि अनुसन्धानमार्फत निर्दोष या दोषी ठहर हुने कानुनी प्रक्रियालाई सबैले सघाउने पार्टी केन्द्रको धारणा रहेको र आलम प्रकरणमा समेत यही सत्य लागू हुने जनाएका थिए ।
आलम पक्राउको विरोधमा आन्दोलनमा उत्रिएको रौतहट कांग्रेसले समेत पार्टीको केन्द्रीय धारणाअनुरूप अनुसन्धान प्रक्रियामा सहयोग गर्ने शर्माले उल्लेख गरेका थिए ।

No comments:

Post a Comment