Saturday, October 12, 2019

‘अपराधमा पद र अनुहार नहेरी निष्पक्ष छानबिन गर्नुस्’

प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन
काठमाडौं, २४ असोज– प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै पनि अपराधको अनुसन्धानमा पद र अनुहार नहेरी निष्पक्ष छानबिन गर्न नेपाल प्रहरीलाई निर्देशन दिएका छन् । ६४ औं प्रहरी दिवसका अवसरमा प्रहरी प्रधान कार्यालयमा शुक्रबार आयोजित कार्यक्रममा उनले कुनै पनि किसिमको दबाबमा नपरी प्रहरी संगठनले आफ्नो कानुनी दायित्व इमानदारीपूर्वक पूरा गर्नुपर्नेमा जोड दिए ।
प्रधानमन्त्री ओलीले अपराध अनुसन्धानका क्रममा सत्तारूढ दल, विपक्षी दल, ओहोदा, पद वा सम्पत्तिलगायत कुनै पनि विषय नहेर्न प्रहरी अधिकारीहरूलाई निर्देशन दिए । ‘कुन पार्टी सरकारमा छ ? को पक्षमा छ ? को विपक्षमा छ ? कुन पदमा छ ? कुन ओहोदामा छ ? कुनै हैसियतको मान्छे हो ? कति सम्पत्तिवाल हो ? यस्ता कुरा प्रहरीले मतलब गर्नु हुँदैन,’ उनले भने, ‘प्रहरीले अनुहार नहेरीकन निष्पक्ष छानबिन गर्नुपर्छ । कसैको दबाबमा पर्नु हुँदैन ।’
उनले अपराधको राजनीतीकरण गर्ने अनि राजनीतिलाई अपराधीकरण गरी निष्पक्ष अनुसन्धानमा व्यवधान खडा गरी प्रहरीलाई नै आरोप लगाउने प्रवृत्ति समाजमा बढ्न थालेको उल्लेख गर्दै त्यसप्रति प्रहरी सधैं सतर्क रहनुपर्ने बताए । ‘वास्ता नगरेपछि प्रहरीलाई दबाब आउन छाड्छ र निष्पक्ष न्याय निरूपणबाट समाजमा सत्य स्थापित हुन्छ,’ उनले भने ।
अधिकारीलाई अवार्ड
प्रहरी दिवसका अवसर पारेर प्रहरी प्रधान कार्यालयले पूर्व एआईजी यादव अधिकारीलाई ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड’ प्रदान गरेको छ । प्रधानमन्त्री ओलीले अधिकारीलाई अवार्ड प्रदान गरेका थिए ।

No comments:

Post a Comment