Thursday, October 24, 2019

सैन्य भर्ना अनियमिततामा २७ जनामाथि छानबिन

काठमाडौं, ६ कात्तिक– नेपाली सेनाले सैन्य भर्ना छनोट प्रक्रियामा अनियमितता गरेका ४ सैनिक र २३ गैरसैनिकमाथि अनुसन्धान अघि बढाएको छ । किर्ते तथा आर्थिक लेनदेनमा संलग्न भएको आशंकामा उनीहरूलाई सैनिक निगरानीमा राखी अनुसन्धान सुरु गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयद्वारा बुधबार जारी विज्ञप्तिअनुसार सेनाले ४० भर्ना केन्द्रबाट रिक्त ५ हजार ८ सय दरबन्दीमा सैन्य छनोट प्रक्रिया अघि बढाएको थियो । नेपाली सेनाको भर्ना केन्द्र श्री उत्तर–पश्चिम पृतना हेडक्वार्टर, सुर्खेतमा नक्कली परिचयपत्र बनाई किर्ते गरेकामा तीन सैनिक, श्री ५ नं. बाहिनी अड्डा भर्ना केन्द्र कैलालीमा आर्थिक लेनदेन गरेको आशंकामा एक सैनिकलाई निगरानीमा राखी अनुसन्धान अघि बढाइएको निर्देशनालयले उल्लेख गरेको छ । सुर्खेत भर्ना केन्द्रमा नक्कली परीक्षार्थीलाई परीक्षा दिन पठाउने ६ उम्मेदवार र ९ नक्कली परीक्षार्थीलाई जिल्ला प्रशासन कार्यालय, सुर्खेतले पक्राउ गरी अनुसन्धान अघि बढाएकोसमेत निर्देशनालयले जनाएको छ ।
सैन्य भर्ना केन्द्र श्री २४ नं. बाहिनी अड्डा, जुम्ला तथा श्री नं. ५ बाहिनी, कैलालीमा परीक्षा दिन आएका ४ नक्कली परीक्षार्थीलाई पक्राउ गरिएको र वास्तविक परीक्षार्थीको खोजी भइरहेको निर्देशनालयले जनाएको छ । निर्देशनालयका अनुसार अरू तीन भर्ना केन्द्रमा आर्थिक लेनदेनमा संलग्न ४ गैरसैनिकलाई नियन्त्रणमा लिइएको छ ।
प्रधानसेनापति पूर्णचन्द्र थापाले सेनाको नेतृत्व सम्हालेदेखि भर्ना छनोट प्रक्रियालाई स्वच्छ, निष्पक्ष र स्वस्थ प्रतिस्पर्धात्मक बनाई संगठनमा योग्य व्यक्ति प्रवेश गराउन जोड दि“दै आएको निर्देशनालयले जनाएको छ । निर्देशनालयका अनुसार गत वर्षदेखि भर्ना छनोट प्रक्रियालाई प्रभावकारी र व्यवस्थित बनाउन सबै भर्ना केन्द्रमा ‘प्रमाणीकरण कक्ष’ राखेर बायोमेट्रिक मेसिन प्रयोग गरी उम्मेदवारको प्रमाणीकरण तथा किर्ते नियन्त्रण गर्न थालिएको छ ।

No comments:

Post a Comment