Saturday, October 12, 2019

निजामती कर्मचारीहरूलाई स्वागत र बिदाइमा सरिक हुन ‘उर्दी’

काठमाडौं, २४ असोज– सरकारले शनिबार राजकीय भ्रमण आउने चिनियाँ राष्ट्रपति सी चिनपिङको स्वागत र बिदाइका लागि राजधानीमा कार्यरत सम्पूर्ण निजामती कर्मचारीलाई सवारी रुटमा आउन ‘उर्दी’ जारी गरेको छ । सरकारका तर्फबाट संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले राष्ट्रपति सी नेपाल आउने दिन शनिबार र स्वदेश फर्कने दिन आइतबार निजामती कर्मचारीहरूलाई राजधानीको माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म सडकका दुवै किनारामा बसेर स्वागत र बिदाइ गर्न आह्वान गरेको छ ।
मन्त्रालयले निजामती कर्मचारीहरूलाई निजामती पोशाक लगाएर शनिबार अपराह्न ३ः४५ बजे स्वागतमा र आइतबार बिहान ११ः१५ बजे बिदाइमा सरिक हुन आह्वान गरेको हो ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव यादव कोइरालाले चिनियाँ राष्ट्रपतिको भ्रमणका क्रममा निजामती कर्मचारीहरूले सडकमा आएर स्वागत र बिदाइमा सरिक हुन चाहेकाले सरकारले बस्ने ठाउँमात्र तोकिदिएको दाबी गरे ।
‘सरकारले निजामती कर्मचारीहरूलाई स्वागत र बिदाइका लागि सवारी रुटमा आउन उर्दी जारी गरेको होइन । कर्मचारीहरू आफैंले स्वागत र बिदाइमा सरिक हुन्छौं भनेकाले मन्त्रालयले माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म सवारी रुटमा बस्ने ठाउ“मात्र तोकिदिएको हो’ कोइरालाले भने ।

No comments:

Post a Comment