Tuesday, April 28, 2020

अलपत्र सयबढी कर्मचारीलाई कामकाजमा खटाइयो

काठमाडौं, १७ वैशाख– संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले लामो समयदेखि हाजिर गर्नसमेत नपाएर अलपत्र परेका स्थानीय तहका सयभन्दा बढी कर्मचारीलाई कामकाजमा खटाएको छ । अलपत्र पर्नेमा शाखा अधिकृतदेखि चौथो तहसम्म्का कर्मचारी थिए ।
लोकसेवाबाट सिफारिस भएको छ महिनाभन्दा बढी समयदेखि उनीहरूले तलबसमेत पाएका थिएनन् । सरकारले कामकाजमा खटाएसँगै उनीहरूले तलबभत्ता पाउने भएका छन् ।

संघीय मामिलाले मंगलबार विज्ञप्ति जारी गरी लोकसेवा आयोगबाट सिफारिस भएका, तर तोकिएको स्थानीय तहमा हाजिर नगराइएका कारण समस्यामा परेका कर्मचारीहरूलाई तत्कालका लागि कामकाज गर्न खटाइएको जनाएको छ ।

स्थानीय तहहरूले यसअघि नै पदपूर्ति भइसकेको, बजेट नभएको, आफूले मागै नगरेको, अन्यत्रैबाट समायोजना भइसकेको आदि कारण दिएर लोकसेवाबाट आफ्नो पालिकामा सिफारिस भएका कर्मचारीलाई हाजिर गराएका थिएनन् । 
तोकिएको स्थानीय तहमा हाजिर हुन नपाएपछि तलबसमेत नपाएर अलपत्र कर्मचारीहरूले आफूलाई कामकाजमा लगाउन माग गर्दै संघीय मामिला मन्त्रालयमा धर्ना दिंदै आएका थिए ।
संघीय मामिला मन्त्रालयले सचिवस्तरीय निर्णयबाट दुईपटकमा गरी अलपत्र १ सय ६ कर्मचारीलाई पद रिक्त भएको अर्को स्थानीय तहमा कामकाजमा खटाएको हो । 
ती कर्मचारीलाई पद रिक्त भएपछि सिफारिस भएकै स्थानीय तह या अहिले कामकाजमा खटाइएकै ठाउँमा  स्थायी व्यवस्थापन गरिने जानकारीसमेत मन्त्रालयले दिएको छ ।

No comments:

Post a Comment