Tuesday, April 28, 2020

लकडाउनमा पनि मेलम्चीको काम ‘सुचारु’

असारभित्रै राजधानीमा पानी ल्याइसक्ने कोसिसमा छौं : सचिव बेलवासे
काठमाडौं, १७ वैशाख– खानेपानी मन्त्रालयले लकडाउनमा समेत बहुप्रतीक्षित मेलम्ची खानेपानी आयोजनामा निर्माणको काम ‘सुचारु’ रूपमा अघि बढिरहेको दाबी गरेको छ । 
लकडाउनका कारण पर्याप्त कामदार परिचालन र विदेशबाट ल्याउनुपर्ने निर्माण सामग्रीको आपूर्तिमा समस्या भइरहेकाले कामको गति भने अपेक्षा गरेभन्दा केही सुस्त रहेको जानकारी मन्त्रालयका अधिकारीले दिए ।
खानेपानी मन्त्रालयका सचिव माधव बेलवासेले पूर्व निर्धारित मिति असारभित्रै राजधानीमा पानी ल्याइसक्ने गरी आयोजनाको काम भइरहेको दाबी गरेका छन् ।

सचिव बेलवासेले मेलम्चीमा खोलामा बाँध (हेड वक्र्स) निर्माण, सुरुङको अन्तिम बिन्दु सुन्दरीजलमा गेट बनाएर पाइपमार्फत पानी प्रशोधन प्लान्टमा जोड्ने र सुरुङ फिनिसिङलगायका सबै  मुख्य काम एक साथ अघि बढिरहेको दिए ।

लकडाउन अगाडि मेलम्ची आयोजनामा नेपाली ३ सय ५० मजदुर र चिनियाँ ६० जना प्राविधिक तथा श्रमिकले काम गरिरहेका थिए । लकडाउन सुरु भएपछि करिब २ सय ५० जना नेपाली कामदार घर फर्किए । 
बेलवासेका अनुसार अहिले १ सय ४ नेपाली कामदार र ६० जना चिनियाँ प्राविधिक तथा श्रमिकबाट आयोजनाको निर्माणको काम भइरहेको छ । मेलम्चीमा कार्यरत सबै प्राविधिक तथा कामदारलाई कार्यस्थलमै बसोबास र खानाको व्यवस्था गरिएको छ । 
सुरुङको अन्तिम बिन्दु सुन्दरीजलमा गेट निर्माण र त्यहाँबाट १७ करोड लिटर पानी प्रशोधन प्लान्टसम्म लैजाने पाइप जडानलगायतका कामसमेत भइरहेको छ । त्यसका लागि आवश्यक केही स्टिल पाइप भारतबाट ल्याउन लकडाउनका कारण समस्या भइरहेकाले त्यसको विकल्पको खोजी भइरहेको जानकारी बेलवासेले दिए ।
उनका अनुसार आवश्यक पाइप नेपालमै खोज्ने या काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूएल) सित रहेका पाइप मेलम्चीमा लगेर उपयोग गर्ने र भारतबाट आइपुगेपछि उसलाई उपलब्ध गराउने विकल्पको खोजी भइरहेको छ ।  तत्काल पाइप प्रबन्ध गरेर जडानको कामसमेत थालिने छ ।
मेलम्ची खोलाको पानी थुनेर सुरुङभित्र पठाउन निर्माणाधीन मुख्य बाँधको कामसमेत अघि बढिरहेको छ । बेलवासेले मुख्य बाँध निर्माणको काम भने असारभित्र नसकिने जानकारी दिए ।
मुख्य बाँध निर्माणको काम आगामी पुस–माघभित्र सकिने पूर्व निर्धारित लक्ष्य छ । बेलवासले मुख्य बाँध नबनिसके पनि अस्थायी बाँधबाट असारभित्रै मेलम्चीको पानी सुरुङ हुँदै राजधानीमा ल्याउन सकिने जानकारी दिए । 
सुरुङको फिनिसिङ र अन्तिम बिन्द सुन्दरीजलमा गेट र पानी प्रशोधन केन्द्रसम्म पु¥याउन ३० मिटर पाइप सिस्टम जडानलगायतको काम सकिनासाथ पानी ल्याउन थालिने उनले बताए ।
‘आयोजनाबाट असारभित्रै राजधानीमा पानी ल्याइसक्ने हाम्रो कोसिस जारी छ । लकडाउनका कारण विभिन्न व्यवधान आए पनि निर्धारित मितिमा पानी ल्याउने गरी आयोजनाको काम अघि बढिरहेको छ, पानी ल्याउने मिति पछि सर्ने स्थिति छैन’ बेलवासले कान्तिपुरसित भने ।
उनका अनुसार मेलम्चीबाट दैनिक २१ करोड लिटर काठमाडौं उपत्यकामा ल्याउने योजना छ । चैतको एक महिना दैनिक १७ करोड र बाँकी ११ महिना दैनिक २१ लिटर पानी राजधानी ल्याइने जानकारी बेलवासले दिए ।
सुन्दरीजलमा निर्माण गरिएको प्रशोधन प्लान्टको क्षमता दैनिक १७ करोड लिटर छ । बाँकी ४ करोड लिएर पानी सुन्दरीजलको पुरानो खानेपानी प्रणालीमा लगेर जोड्ने र महांकाल तथा बोडेस्थित ट्रिटमेन्ट प्लान्ट उपयोग गरी प्रशोधन गरेर राजधानी वितरण गर्ने योजना मन्त्रालयको छ । सुरुङको ्अन्तिम विन्दुबाट सुन्दरीजलको पुरानो सिस्टमसम्म पानी लैजान करिब ८ सय मिटर जडान गर्नु पर्नेछ । पाइप जडानको कामसमेत छिट्टै सुरु गरिने जानकारी उनले दिए ।
मेलम्चीबाट वर्षको ८ महिनासम्म ५१ करोड लिटर पानी राजधानी ल्याउन सकिन्छ । तत्काललाई पानी प्रशोधनको क्षमताबराबर २१ करोड लिटरमात्र पानी ल्याइने छ ।
मन्त्रालयले सुन्दरी जलमा थप १७÷१७ करोड लिटरका दुइटा प्रशोधन प्लान्ट निर्माण गर्न डीपीआर तयार पार्नेलगायतका काम गरिरहेको छ । ती प्रशोधन केन्द्र बनेपछि मेलम्चीबाट वर्षको ८ महिना ५१ करोड लिटर पानी ल्याउन सकिने छ । आयोजनाले मेलम्चीको सुरुङ हुँदै याङ्ग्री र लार्केबाट थप १७÷१७ लिटर पानी ल्याउन सुरुङ र बाँधलगायतको निर्माणका लागि डीपीआर तयार गरी पहुँच मार्ग बनाउने र ठेक्का प्रक्रिया अघि बढाउने काम गरिरहेको जानकारी मन्त्रालयका अधिकारीले दिए ।

No comments:

Post a Comment