Wednesday, April 15, 2020

दुई सहसचिव सचिवमा बढुवा, दुई जनाको सरुवा

काठमाडौं, ३ वैशाख– सरकारले दुई जना वरिष्ठ सहसचिवद्वय अर्जुन पोखरेल र सागर राईलाई सचिवमा बढुवा गरेको छ । मन्त्रिपरिषदको मंगलबार बसेको बैठकले बढुवा समितिको सिफारिसमा दुई सहसचिवलाई सचिवमा बढुवा गर्नुका साथै दुई जना सचिवलाई सरुवा गरेको छ ।
नेपाल ट्रष्टका सचिव रामकृष्ण सापकोटालाई राष्ट्रिय पुनर्निर्माण प्राधिकरण र प्रदेश २ का प्रमुख सचिव रामकृष्ण सुवेदीलाई सुदूर पश्चि पं्रदेशमा सरुवा गरिएको छ । सरकारले सामान्य प्रशासन समूह (क्लस्टर) का पोखरेल र इन्जिनियरिङ क्लस्टरका राईलाई बढुवा गरेको हो । पोखरेललाई प्रदेश २ को प्रमुख सचिवमा र राईलाई नेपाल ट्रष्टको सचिवमा पदस्थापन गरिएको छ ।


निजामती ऐनको व्यवस्थाअनुसार सामान्य प्रशासन क्लस्टरको ज्येष्ठताबाट बढुवा हुने एक पदमा बढुवा समितिले पोखरेलको नाममात्र सिफारिस गरेको थियो ।
बढुवा समितिले तेब्बर संख्यामा सिफारिस भएकामध्येबाट पदोन्नति हुने इन्जिनियरिङ समूहको सचिवका लागि वरिष्ठ तीन सहसचिव सागर राई, सुरेश आचार्य र मणिराम गेलालको नाम सिफारिस गरेको थियो । 
सरकारले स्वास्थ्य मन्त्रालयमा स्वास्थ्य समूहबाट बढुवा हुने रिक्त सचिव पदपूर्ति प्रक्रिया भने अघि बढाएको छैन । स्वास्थ्य मन्त्रालयमा स्वास्थ्यतर्फका एक जना प्राविधिक र अर्को प्रशासनिक सचिव रहने व्यवस्था छ ।
बढुवा समितिले १२ औं तहका तीन वरिष्ठ स्वास्थ्यकर्मीलाई सचिव पदोन्नति गर्न सिफारिस गर्ने कानुनी व्यवस्था छ । मन्त्रिपरिषदले सिफारिसमा परेका तीन वरिष्ठ स्वास्थ्यकर्मीमध्येबाट एक जनालाई सचिवमा बढुवा गर्ने गर्छ ।
स्वास्थ्य सचिव डा. पुष्पा चौधरीले राजिनामा दिएको तीन महिना बढी भइसके पनि सरकारले रिक्त पदमा बढुवा गर्ने प्रक्रिया अघि बढाएको छैन । सरकारले स्वास्थ्य समूहको सचिव बढुवा गर्न प्रस्ताव नै नल्याएकाले प्रक्रिया सुरु नभएको जानकारी बढुवा समितिका एक सदस्यले दिए ।

No comments:

Post a Comment