Saturday, April 18, 2020

राष्ट्रपतिले फिर्ता गरिन् आफूलाई नयाँ गाडी खरिद गर्ने पैसा

साढे ९ करोड बजेट फिर्तापछि राष्ट्रपति कार्यालयमा सभा हल निर्माण, मर्मत, ६ वटा इलेक्ट्रिक कार, कम्प्युटर, ल्यापटप खरिदको प्रक्रिया स्थगित
काठमाडौं, ६ वैशाख– राष्ट्रपति विद्या भण्डारीले आफ्ना लागि सुविधा सम्पन्न इलेक्ट्रिक गाडी खरिदका लागि विनियोजित रकम सरकारको सञ्चित कोषमा फिर्ता गरेकी छन् । 
कोभिड–१९ को महामारीका कारण उत्पन्न विशेष परिस्थितिमा आफ्ना लागि गाडी खरिद गर्नु उपयुक्त नहुने विश्लेषण गरी उनले रकम फिर्ता गरेकी हुन् ।
राष्ट्रपति कार्यालय भण्डारीका लागि ६५ लाख रुपैयाँ (भन्सार राजस्वबाहेकं) मा लामो आकारको भीभीआईपी इलेक्ट्रिक गाडी खरिद गर्ने अन्तिम तयारीमा थियो ।

राष्ट्रपति भण्डारीले चढ्दै आएका सुविधासम्पन्न गाडी पुराना भइसकेका छन् । अरू गाडी पुराना भएका कारण भण्डारीले दुई वर्षअघि खरिद गरिएको बीवाईडी इलेक्ट्रिक कार चढ्दै आएकी छन् ।

उक्त कार एकपटक चार्ज गरेपछि  १ सय ५० किलोमिटर गुड्छ । राष्ट्रिपति कार्यालयले एकपटक चार्ज गरेपछि ४ सय ५० किमी गुड्ने त्योभन्दा आधुनिक र सुविधासम्पन्न कार किन्ने प्रक्रिया अन्तिम चरणमा पु¥याएको थियो । 
भण्डारीका लाग नयाँ कार आएपछि पुरानो इलेक्ट्रिक गाडी राष्ट्रपति कार्यालयका अरू एक पदाधिकारीलाई दिने निर्णय भइसकेको थियो । राष्ट्रपति भण्डारी, राष्ट्रिपति कार्यालयका सचिव र सहसचिवलगायतका लागि ६ वटा इलेक्ट्रिक कार खरिद गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको थियो । ६ वटै गाडी एकपटक चार्ज गरिसकेपछि ४ सय ५० किमी गुड्ने क्षमताका खरिद गर्न लागिएको थियो । 
 राष्ट्रपति कार्यालयका सचिव र सहसचिवका गाडीसमेत पुराना भएकाले मर्मतसम्भार खर्च धेरै पर्न थालेकाले नयाँ खरिद गर्न लागिएको दाबी स्रोतको छ ।
राष्ट्रिपति कार्यालयले सार्वजनिक खरिद ऐनको प्रक्रिया पूरा गरी करिब ५ करोड रुपैयाँमा ६ वटा कार र चार्जिङ स्टेसनका लागि आवश्यक उपकरण किन्न लागेको थियो । 
यहीबीचमा मुलुकमा कोरोना भाइरसको संक्रमण देखिन थालेको र ‘लकडाउन’ का कारण सिंगो मुलुक आर्थिक संकटमा परेकाले राष्ट्रपति कार्यालय नयाँ गाडी खरिदको प्रक्रिया स्थगन गर्ने निर्णयमा पुगेको जानकारी स्रोतले दियो ।
राष्ट्रपति कार्यालयले नयाँ गाडी खरिद, सभा हल बनाउन, भवन मर्मतसम्भार गर्न, कम्प्युटर, ल्यापटपसहित मेसिनरी औजार खरिद गर्न सरकारले दिएको ९ करोड ५० लाख रुपैयाँ राज्य कोषमा फिर्ता गरेको छ ।
राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गरी ‘विश्वव्यापी महामारीका रूपमा फैलिएको कोभिड–१९ का कारण उत्पन्न विशेष परिस्थितिमा यस कार्यालयलाई विनियोजित ९ करोड ५० लाख संघीय राज्य कोषमा जम्मा गरिएको’ जनाएको छ ।
स्रोतका अनुसार राष्ट्रपति कार्यालयका लागि डेढ करोड रुपैयाँमा जेनेरेटर र इन्भर्टर तथा सल्लाहकार, विज्ञ, कार्यालयका सचिव, सहसचिवका लागि कम्प्युटर र ल्यापटप खरिद प्रक्रिया अघि बढाइएको थियो ।
राष्ट्रपति कार्यालयमा एउटा विशेष मिटिङ हल निर्माण गर्न लागिएको थियो । कार्यालयमा विदेशी मुलुकका राजदूतले राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र बुझाएपछि छुट्टै भेट्ने मिटिङ हलसमेत छैन । करिब साढे चार करोड रुपैयाँमा मिटिङ हल बनाउने र राष्ट्रपति कार्यालय भवनको मर्मतसम्भार गर्ने तयारी भइरहेको थियो ।
राष्ट्रपति कार्यालयका सचिव हरि पौडेलले नयाँ गाडी, ल्यापटप, कम्प्युटर तथा मेसिनरी औजार खरिद तथा मिटिङ हल निर्माण र भवनको मर्मतसम्भार कार्य स्थगित गरी बजेट फिर्ता गरिएको जानकारी दिए ।
‘अत्यन्त जरुरी हुँदाहुँदै पनि राष्ट्रपति कार्यालयले गाडी, ल्यापटप, कम्प्युटर खरिद तथा भवन मर्मतसम्भार तथा मिटिङ हल निर्माणलगायतका काम रोकेर साढे ९ करोड रुपैयाँ फिर्ता गरेको हो’ पौडेलले कान्तिपुरसित भने ।
कोरोना भाइरसको संक्रमण रोकथाम, नियन्त्रण र उपचारका लागि सरकारलाई ठूलो रकम आवश्यक परिरहेका बेला राष्ट्रपति कार्यालयले अत्यावश्यकबाहेक अरू बजेट फिर्ता गर्दा राम्रो सन्देश जाने भएकाले सबै खरिद प्रक्रिया स्थगित गरिएको जानकारी दिए ।
अर्थमन्त्रालयको प्रस्तावमा सरकारले गाडीलगायतका सामान खरिद, मर्मतसम्भार, गोष्ठी सेमिनारको बजेट फिर्ता गर्न सबै सरकारी निकायलाई निर्देशन दिएको छ । तर, मुलुकको सबभन्दा सम्मानित संस्था भएकाले राष्ट्रपति कार्यालयलाई सरकारले बजेट फिर्ता गर्नु पर्ने दायरामा राखेको थिएन ।
राष्ट्रपति भण्डारी र राष्ट्रपति कार्यालयले कोभिड–१९ बाट उत्पन्न विशेष परिस्थितिको संवेदनशीलता बुझी आफैंले निर्णय गरेर आफूलाई विनियोजित बजेट फिर्ता गरेको जानकारी स्रोतले दिएको छ ।

No comments:

Post a Comment