Sunday, April 19, 2020

राजधानीमै भोकभोकै परेका ५ सय मजदुरको गुहार


  • सूचना पाउनासाथ राहत उपलब्ध गराउन सरकारले तोक्यो सात जना फोकल पर्सन
  • खानपानमा कतै समस्या भए सूचना दिन संघीय मामिला मन्त्रालयको आह्वान

काठमाडौं, ७ वैशाख– काठमार्डौ उपत्यकाकै ५ सय २ जना मजदुरले आफूहरूले खाना र बस्न नपाएको भन्दै तत्काल राहत दिन र उद्धार गरिदिन सरकारसित माग गरेका छन् । ती मजदुरले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको संयन्त्रमा आइतबार फोन सम्पर्क गरी आफूहरूलाई तत्काल खानपान र घर जाने व्यवस्था मिलाइदिन सरकारसित गुहार मागेका हुन् ।

उनीहरूले लकडाउनका कारण आफू कार्यरत उद्योगहरू बन्द भएका कारण खाना नै नपाएको उल्लेख गर्दै आफूहरूलाई घर फर्कने व्यवस्था मिलाइदिन आग्रह गरेको जानकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव वसन्त अधिकारीले दिए ।

अधिकारीका अनुसार गुहार माग्नेमा चाँगुनारायण नगरपालिका– ८ को मञ्जुश्री इँटाभट्टाका १ सय ५२, सूर्यविनायक–९ को हनुमान ५ नं. इँटाभट्टाका १ सय ९, भक्तपुर ताथलीको हनुमान ३ नं. इँटाभट्टाका १ सय ८, ललितपुरको दक्षिणकाली इँटा उद्योगका ४०, गोदामचौरको मनकामना इँटाभट्टाका ५३, जगातीमा रहेका विभिन्न उद्योगका ४० जना मजदुरले सरकारसित गुहार मागेका हुन् ।
अधिकारीले ती सबै मजदुरले लकडाउनका कारण आफूहरू कार्यरत उद्योग बन्द भएका कारण आफूहरूको रोजीरोटी खोसिएको उल्लेख गर्दै तत्काल खानपान र घर फर्कने व्यवस्था मिलाइदिन आग्रह गरेका छन् । गुहार माग्ने मजदुर धेरैजसो रुकुम र रोल्पाको रहेको जानकारीसमेत अधिकारीले दिए ।
अधिकारीका अनुसार संघीय मामिला मन्त्रालयले ती मजदुर रहेका पालिकाहरूका प्रमुख कार्यकारी अधिकृतलाई आइतबार नै फोन सम्पर्क गरी उनीहरूलाई राहत दिई खानपिनको व्यवस्था मिलाउन निर्देशन दिइसकेको छ । सम्बन्धित पालिकाहरूले उनीहरूलाई सोमबार नै राहत दिई खानपिनको व्यवस्था मिलाउने छन् । संघीय मामिला मन्त्रालयले लकडाउन अवधिभर उनीहरूलाई घर फर्काउन चाहिँ नसकिने जानकारी गराउँदै अहिले भएकै ठाउँमा बसिदिन आग्रह गरेको छ ।
‘५ सय २ मजदुरले हामीलाई सम्पर्क गरी खाना नपाएको जानकारी गराउँदै आ–आफ्नो घर फर्काइदिनोस् भनेर माग गर्नु भएको छ । लकडाउनका कारण हामीले घर फर्काउन सक्तैनौं । तपाईंहरू जहाँ हुनु हुन्छ, त्यहीँ तत्काल राहतको व्यवस्था गर्छौं, त्यहीँ बस्नोस् भनेका छौं । सोमबारसम्म उहाँहरूले सम्बन्धित पालिकाबाट राहत पाइसक्नु हुन्छ’ अधिकारीले भने ।
संघीय मामिला मन्त्रालयले मजदुर, असंगठित क्षेत्रका श्रमिक र विपन्न तथा असहाय वर्गलाई लकडाउनका कारण खानपानमा समस्या आएको जानकारी पाउनासाथ तत्काल राहतको व्यवस्था गर्न सात जना फोकल पर्सन तोकेको छ । जानकारी पाउनासाथ ती फोकल पर्सनले सम्बन्धित पालिकाका प्रमुख कार्यकारी अधिकृतलाई निर्देशन दिई श्रमिक, विपन्न र असहायलाई राहत उपलब्ध गराउने जानकारी अधिकारीले दिए ।
मन्त्रालयले आइतबार वेबसाइटमा सूचना जारी गरी सात प्रदेशका लागि उपसचिवस्तरका एक÷एक जना अधिकारीलाई फोकल पर्सन तोकिएको जनाएको छ । सूचनामा प्रह्लाद कार्की (प्रदेश १),  ऋषिराज आचार्य (प्रदेश २), अच्युत रेग्मी (बागमती प्रदेश), बाबुराम भुसाल (गण्डकी प्रदेश), डिलाराम पन्थी (५ नं. प्रदेश), रामप्रसाद वाग्ले (कर्णाली प्रदेश) र रेशमलाल कँडेल .(सुदूर पश्चिम प्रदेश) लाई फोकल पर्सन तोकिएको उल्लेख छ । 
सूचनामा सातै जना फोकल पर्सनको मोबाइल नम्बरसमेत दिइएको छ । भोकभोकै बस्न बाध्य र राहत पाउन नसकेका श्रमिक, मजदुर, विपन्न र असहाय वर्गले आ–आफ्नो प्रदेशको फोकल पर्सनलाई फोन सम्पर्क गरी या एसएमसएस पठाएर राहत माग्न सक्ने जानकारी अधिकारीले दिए । मन्त्रालयले सम्पूर्ण राजनीतिकर्मी, नागरिक समाज, पेशाकर्मी र सञ्चारकर्मीलाई कहीँ कतै श्रमिक, मजदुर, विपन्न र असहाय वर्गलाई खानपानको समस्या भएको थाहा पाउनासाथ तत्काल फोकल पर्सन या सम्बन्धित पालिकालाई खबर गरिदिनसमेत सूचनामा अपिल गरेको छ ।


No comments:

Post a Comment