Monday, April 13, 2020

मानव अधिकारको अवस्था अनुगमन गर्न उच्चस्तरीय समिति गठन

मानव अधिकार आयोग, बार एसोसिएसन, पत्रकार महासंघ र गैरसरकारी संस्था महासंघबीच सहकार्य
काठमाडौं, २८ चैत– विश्वव्यापी रूपमा फैलिरहेको कोरोना भाइरसको संक्रमणबाट उत्पन्न वर्तमान जटिल परिस्थितिमा मुलुकमा मानव अधिकारको अवस्था अनुगमन गर्न उच्चस्तरीय समिति गठन गरिएको छ ।
राष्ट्रिय मानव अधिकार आयोगले बार एसोसिएसन, पत्रकार महासंघ र गैरसरकारी संस्था महासंघसँग मानव अधिकारको अवस्था अनुगमन गर्न सहकार्य गर्ने निर्णय गरी समिति गठन गरिएको जनाएको छ ।

आयोगद्वारा शुक्रबार जारी विज्ञप्तिका अनुसार समितिले कोभिड–१९ विरुद्ध लड्न सरकारबाट भइरहेका काम, स्वास्थ्योपचारको व्यवस्था, आम उपभोक्ताको अधिकार, न्याय प्रशासनमा पहुँच, अभिव्यक्ति स्वतन्त्रता र नागरिकको कर्तव्यलगायतका विषयमा अनुगमन गरी आयोग र सरकारलाई आवश्यक सुझाव दिने छ ।

समितिमा आयोगका सदस्य गोविन्द शर्मा पौड्याल, सचिव वेद भट्टराई, बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठ, महासचिव लीलामणि पौड्याल, महासंघका अध्यक्ष गोविन्द आचार्य, महासचिव रमेश बिष्ट, गैरसरकारी संस्था महासंघका अध्यक्ष जीतराम लामा, महासचिव रामप्रसाद सुवेदी र आयोगका निर्देशक टिकाराम पोखरेल सदस्य छन् ।
देशव्यापी रूपमा अनुगमनलाई प्रभावकारी बनाउन केन्द्रीय अनुगमन समितिको मातहतमा चारवटै निकायका प्रदेश र जिल्लास्तरीय समितिका पदाधिकारी राखी सातवटै प्रदेश र ७७ वटै जिल्लामा समेत समिति गठन गरी कार्य गरिनेसमेत आयोगले जनाएको छ । 

No comments:

Post a Comment