Monday, April 13, 2020

दुई जना सचिवमा बढुवा, दुई जना बढुवा गर्न प्रक्रिया सुरु

स्वास्थ्य समूहको सचिव बढुवाको प्रक्रिया सुरु भएन 
काठमाडौं, ३० चैत– सरकारले तीन मन्त्रालयसहित ५ निकायमा रिक्त ५ सचिवमध्ये २ पदमा बढुवा गरेको छ भने दुई पदमा पदोन्नतिको प्रक्रिया सुरु गरेको छ ।
मन्त्रिपरिषद बैठकले बढुवा समितिको सिफारिसमा कृषि तथा वन समूहका  सहसचिव राजेन्द्रप्रसाद भारी र कायममुकायम सचिव रामप्रसाद पुडासैनीलाई सचिवमा पदोन्नति गरेको हो ।
भारीलाई कृषि तथा पशुपंक्षी मन्त्रालयको कृषि विकास सचिवमा पदस्थापन गरिएको छ । उनी कृषि समूहका सहसचिव थिए ।
पुडासैनीलाई अर्थमन्त्रालयको राजस्व सचिवमा पदस्थापन गरिएको छ । उनी यसअघि पनि अर्थमन्त्रालयमै कामु राजस्व सचिव थिए ।

बढुवा समितिले सामान्य प्रशासन समूह (क्लस्टर) का वरिष्ठ सहसचिव अर्जुन पोखरेललाई सचिवमा पदोन्नति गर्न सिफारिस गरेको छ । निजामती ऐनको व्यवस्थाअनुसार ज्येष्ठताबाट बढुवा हुने एक पदमा बढुवा समितिले एक जनाको नाममात्र सिफारिस गरेको हो ।
पोखरेल सुदूर पश्चिम प्रदेशको निमित्त प्रमुख सचिव छन् । सामान्य प्रशासन समूहतर्फ सुदूर पश्चिम प्रदेशकै प्रमुख सचिव पद रिक्त छ ।
बढुवा समितिले इन्जिनियरिङ समूहका वरिष्ठ तीन सहसचिव सुरेश आचार्य, सागर राई र मणिराम गेलाललाई सचिवमा बढुवा गर्न सिफारिस गरेको छ । अब बस्ने मन्त्रिपरिषद बैठकले तीन जनामध्येबाट एक जनालाई सचिवमा बढुवा गर्नेछ । इन्जिनियरिङ समूहमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमा सचिव पद रिक्त छ ।
सरकारले स्वास्थ्य मन्त्रालयमा स्वास्थ्य समूहबाट बढुवा हुने रिक्त सचिव पदपूर्ति प्रक्रिया भने अघि बढाएको छैन । स्वास्थ्य मन्त्रालयमा स्वास्थ्यतर्फका एक जना प्राविधिक र अर्को प्रशासनिक सचिव रहने व्यवस्था छ ।
बढुवा समितिले १२ औं तहका तीन वरिष्ठ स्वास्थ्यकर्मीलाई सचिव पदोन्नति गर्न सिफारिस गर्ने कानुनी व्यवस्था छ । मन्त्रिपरिषदले सिफारिसमा परेका तीन वरिष्ठ स्वास्थ्यकर्मीमध्येबाट एक जनालाई सचिवमा बढुवा गर्ने गर्छ ।
स्वास्थ्य सचिव डा. पुष्पा चौधरीले राजिनामा दिएको तीन महिना बढी भइसके पनि सरकारले रिक्त पदमा बढुवा गर्ने प्रक्रिया अघि बढाएको छैन । सरकारले स्वास्थ्य समूहको सचिव बढुवा गर्न प्रस्ताव नै नल्याएकाले प्रक्रिया सुरु नभएको जानकारी बढुवा समितिका एक सदस्यले दिए ।

No comments:

Post a Comment